भारतीय प्रधानमन्त्री मोदीको शपथ आज



काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज शपथ लिने भएका छन्। मोदी यस अघि शुक्रबार प्रधानमन्त्री पदमा तेस्रो पटक नियुक्त भएका थिए। एनडीए गठबन्धनबाट सरकार बनाउने दाबी पेस गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।

शपथ ग्रहण समारोह आइतबार साँझ ७: १५ बजे हुने राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। मोदीको शपथ ग्रहण समारोहमा छिमेकी देशका नेताहरूले सहभागिता जनाउने भएका छन्।

निमन्त्रणामा छिमेकी राष्ट्रका सरकार प्रमुखमा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मोरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथलगायत छन्। नेपालका प्रधानमन्त्री प्रचण्ड शपथ समारोहमा सहभागी हुन आज  बिहान दिल्लीतर्फ जाने भएका छन्।

केन्द्रीय सरकारको विज्ञप्ति अनुसार राष्ट्रपति द्रौपदी मुर्मुले शपथ ग्रहण समारोहमा सहभागी विदेशी नेताहरूका लागि राष्ट्रपति भवनमा रात्रि भोजको आयोजना गर्नेछिन्। भारतको ‘छिमेकी नीति’ र ‘सागर’ भिजन अन्तर्गत छिमेकी राष्ट्रका नेताहरूलाई आमन्त्रण गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्