सगरमाथा आरोहणमा जर्ज मेलोरीको अन्तरकथा

1k
Shares

भोलि ८ जुन अर्थात् बेलायतका जर्ज मेलोरीको १०० औं स्मृति दिवस, जो सगरमाथा चढ्दाचढ्दै त्यहीँ मृत्युवरण गर्न पुगेका थिए । उनी तीन–तीनपटक सगरमाथा चढ्दा हरेकपटक विश्वको सबैभन्दा उच्च स्थानमा पनि पुगे तर विडम्बना चुचुरो चुमेको प्रामाणिक हुन नसकेको सम्भावित पहिलो सगरमाथा आरोही पनि भए । उनी सफल सगरमाथा आरोही हुन सकेनन् र सगरमाथाको काखमै हराए । इतिहास जित्नेहरुको बखान हुन्छ तर हार्नेहरुको प्रयास र मेहनतसमेत गुमनाम हुन्छ । उनी हराएको दिन त्यो ८ जुन १९२४ र आजको ८ जुन २०२४ को हिसाबले उनी सगरमाथाको शिरमा हराएको आज ठ्याक्कै १०० वर्ष पुगेको छ । यही सन्दर्भलाई लिएर उनै हारेका जर्ज मेलोरीको सम्झनामा उनको अन्तरकथा संक्षिप्तरुपमा लेख्ने जमर्को गर्दै छु ।

सन् १८५२ मा सगरमाथा विश्वको सर्वोच्च शिखर रहेको घोषणा गरिएको थियो । शुरुमा २९,००२ फिट (८,८४० मि.) नापिएकोमा पछि २९,०२८ फिट (८,८४८ मि.) हुँदै हाल २९,०३१.६९ फिट (८,८४८.८६ मि.) यसको उचाइ पुष्टि भइसकेको छ । त्यस समयमा र अहिले पनि सगरमाथालाई तिब्बतीहरुले चोमोलोङ्मा र नेपालीहरुले झ्यामोलोङ्मा भन्छन् भने सगरमाथा मापन गर्दा ‘पिक फिप्टिन’ अर्थात् पन्ध्रौं चुली भनियो । सर्वप्रथम सर्भे अफ इन्डिया (भारतको नापी विभाग) हिमाल मापन टोलीका सदस्य राधानाथ सिकन्दर (बंगाली) ले सगरमाथा विश्वको सबैभन्दा अग्लो हो भनेका थिए । उनैका हाकिम भारतको नापी विभागका सर्भेयर जनरल जर्ज एभरेस्टको नामबाट सन् १८६५ (वि.सं. १९२१) मा यस चुचुरोको नाम एभरेस्ट नामकरण गरियो । पछि सन् १९५६ (वि.सं. २०१२) मा इतिहास शिरोमणि बाबुराम आचार्यले नेपालीमा सगरमाथा राखे ।

सगरमाथा सबैभन्दा अग्लो चुचुरो पुष्टि भएसँगै यसको चुचुरोमा पुग्न सकिने/नसकिने बारे अनुसन्धान हुन थाले । बेलायतीहरुले यसको मापन र नामाङ्कन गरेपछि उनीहरु नै पहिलोपटक चढ्ने मिसनमा लागे । बेलायतकै एल्पिनिस्ट एवं चिकित्सक क्लिन्टन थोमस डेन्टले सन् १८८५ मा ‘एबभ द स्नोलाइट’ नामक पुस्तकमार्फत एभरेस्टमा मानव पुग्न सक्ने सम्भव छ भनेको सोचलाई सन् १९१६ मा ए एम केल्लासको अध्ययनले थप पुष्टि गर्‍यो । यही सोच र अध्ययनलाई आधार मनेर बेलायतीहरु नै संसारकै सर्वाधिक अग्लो चुचुरो पहिलोपटक आफूहरु नै पुग्ने लक्ष्य लिएर तत्कालीन समयमा लगातार तीनै पटकको टोलीमा एकमात्र सदस्य जर्ज मेलोरी सहभागी भएको टिम अगाडि बढ्यो । तर सफलता हासिल हुन सकेन । ठूलो जन–धनको क्षति हुन पुग्यो ।

को हुन् मेलोरी ?

बेलायतको चेसायरस्थित मोवर्ली गाउँमा एक पादरी परिवारमा जन्मेका मेलोरी अर्थात् जर्ज मेलोरीको पूरा नाम जर्ज हर्वर्ट ली मेलोरी हो । हेर्दा पनि सुन्दर, लरक्क र आकर्षक देखिने उनी चुनौतीपूर्ण काम गर्न रुचाउने सबैका प्रियसमेत थिए । कलेज सकेपछि केही समय उनी शिक्षक भए तर लगत्तै सेनामा भर्ती भए । पहिलो विश्वयुद्धमा उनी लेफ्टिनेन्ट पदबाट सहभागी भएर युद्ध लडे ।

यसै क्रममा पर्वतारोहण क्षेत्रमा चासो दिँदादिँदै त्यो पुस्ताका एक अनुभवी पर्वतारोहीसमेत कहलिएका थिए उनी । सन् १९२४ मा सगरमाथामा हराउँदा उनी ३७ वर्षका मात्र थिए । थोरै उमेरमा त्यस समयमा उनले पर्वतारोहण क्षेत्रमा खेलेको भूमिका साँच्चै मननयोग्य छ ।

उनको आरोहण अभियान :
सन १९१९ मा पर्वतारोहणको पहिलो संगठन ‘अल्पाइन क्लब’ र जोग्राफिकल सोसाइटीको समन्वयमा एभरेस्ट आरोहणका लागि सम्भाव्यता अध्ययन टोली गठन गरियो । ९ सदस्यीय उक्त टोलीमा जर्ज मेलोरी पनि सदस्य थिए । उक्त टोलीले नेपालमा विदेशीका लागि खुला नभएकाले दलाई लामाबाट तिब्बत प्रवेशको अनुमति लिएर सिक्किम हुँदै एभरेस्ट आरोहणको सम्भाव्यता अध्ययनसहित पूर्वावलोकन र नक्साङ्कन गरेको थियो । सोही आधारमा सन् १९२१ मे १८ मा पहिलोपटक दार्जीलिङबाट ‘बृटिस माउन्ट एभरेस्ट रिकोनोडेन्स एक्सिपिडिसन’ शुरु भयो र २३ सेप्टेम्बरका दिन जर्ज मेलोरीको टिम नर्थकोलको २३,०३० फिट (७,०१९ मिटर) सम्म पुगेर बाटो पत्ता लगाएर, अनुभव र साहस बटुलेर फर्कियो । सन् १९२२ मा उनी समेत सहभागी भएर ‘बृटिस माउन्ट एभरेस्ट एक्सिपिडिसन’ टिम आरम्भ भयो ।

यसपटक चुचुरो चुम्ने मिसनमा रहेको टोली २६,८०० फिट (८,१६८ मिटर) पुगेपछि दुर्भाग्यवश सातजना भरिया हिमपहिरोमा परी मृत्युवरण गर्न पुगे अनि आरोहण अभियान स्थगन हुन पुग्यो । सन् १९२३ मा भने कार्यक्रम स्थगित नै भयो तर तयारीचाहिँ भई नै रह्यो अनि सन् १९२४ मा ‘बृटिस माउन्ट एभरेस्ट एक्सिपिडिसन’कै नामबाट लगातार आरोहणमा संलग्न एकमात्र सदस्य जर्ज मेलोरीको टिममा उनकै साथी अक्सिजन विज्ञ एवं इन्जिनियर इर्वाइनको साथसमेत थियो । अघिल्लो दुईपटक अक्सिजन नभएको तर यसपटक अक्सिजन र विज्ञ हुँदा पनि लामो प्रयास गर्दागर्दै ८ जुनका दिन २८,१२६ फिट (८,५७२ मिटर) सम्म पुगेको कुरा ८,३०० मिटरस्थित सातौं क्याम्पमा रहेका अर्का आरोही एड्वार्ड नोइनले देखेका थिए भने सन् १९९९ मा उनको लास नै २६,७६० फिट (८,१५६ मिटर) मा फेला परेको थियो । मौसम अत्यन्तै खराब भएका कारण मेलोरी र इर्वाइन हराएपछि उनीहरुको मृत्यु भएको यकिनसहित दुःखद पीडा बोकेर अन्य आरोहीहरु फर्किए तर झीनो आश रहेका ती दुईजना कहिल्यै फर्किएनन् ।

मेलोरी चुचुरोमा पुगेको आधार :

मेलोरीले सगरमाथा चढ्न देखाएको दृढ इच्छाशक्ति र आत्मविश्वास सबैभन्दा ठूलो कुरा थियो, जसले गर्दा चुचुरो नपुग्दासम्म उनले निरन्तरता दिइरहे । अघिल्लो दुईपटक अक्सिजन थिएन तर पछिल्लोपटक अक्सिजनसहित विज्ञ साथी पनि थिए । चुचुरोको नजिक उत्तरी मोहडाको सेकेन्ड स्टेप पुगेको त ८ जुन बिहानसम्म अर्का साथी ओडेलले नै देखेका थिए, जहाँबाट चुचुरो पुग्न धेरै समय लाग्ने थिएन । लास भेटिँदा उनको चश्मा पकेटमा भेटिनुले चुचुरो चढेपछि फर्किंदा रात परेकाले चश्मा पकेटमा हालेको हुन सक्ने अनुमान गरिन्छ । सबैभन्दा महत्वपूर्ण उनले श्रीमती, साथीभाइ, जसलाई पनि चुचुरोमा पुगेपछि आफू र श्रीमती भएको तस्वीर चढाउनेछु भनेका थिए । त्यसैले सधैँ उक्त फोटो पकेटमा हुने गरेकोमा उनको लास भेटिँदा सो फोटो उनको साथमा भेटिएन । उनको पकेटमा सधैँ क्यामेरा हुने गरेको तर शव भेटिँदा त्यो पनि भेटिएन । चुचुरो चुम्दा फोटो खिच्न साथी इर्वाइनलाई दिएको हुन सक्ने अनुमानसमेत गरिन्छ, जसको शव आजसम्म भेटिएको छैन ।

मृत्यु र शवको खोजी :

जुन ८ का दिन बिहानसम्म क्याम्प–७ (करिब ८,३०० मि.) मा आराम गरिरहेका उनकै साथी ओडेलले केही पर उनीहरु एकपछि अर्को गर्दै चुचुरोतिर उक्लिँदै गरेको देखेका थिए । सोही समय अचानक मौसम खराब भयो र उनीहरु देखिन छोडे । केही दिन उनीहरु सोही क्याम्पमा कुरेर बसे, मौसम झन् खराब हुँदै गयो तर साथीहरु फर्किएर आएनन्। उनीहरु अब जिउँदो रहेको आश मर्‍यो । मृत्यु भएको टुङ्गोमा पुगेर सबैजना फर्किन्छन् । उनीहरु फर्किएपछि मेलोरी र इर्वाइनको मृत्युको खबर संसारभर फैलियो । यति ठूलो समाचार बन्यो कि सारा बेलायत नै स्तब्ध भयो । सार्वजनिकरुपमै शोक मनायो । बेलायती राजा स्वयंले परिवारलाई समवेदना दिएका थिए । यो घटनापछि लामो समय ९ वर्षसम्म आरोहण अभियान नै हुन सकेन ।

सन् १९३३ बाट बल्ल पुनः आरोहण प्रयास हुन थाल्यो। बेलायतलगायत कतिपय देशका टिमले आरोहणसँगै मेलोरी र इर्वाइनको खोजबिन गर्न थाले । यस्तै खोजबिनको चरणमा ७५ वर्षपछि सन् १९९९ मा सगरमाथाको काख ८,१२६ मिटरमा मेलोरीको शव फेला पर्‍यो । फेरि जर्ज मेलोरीका बारेमा संसारभर प्रमुख समाचार बन्यो । तर जति प्रयास गर्दा पनि इर्वाइन को भने आजसम्म शव फेला पर्न सकेको छैन । उनको लास सगरमाथाको गर्भमै हराइरहेको छ । उनीहरु सगरमाथा चुचुरो पुगेको हुन सक्ने प्रमाण भेटिन सक्ने झीनो आश अझै सगरमाथाकै गर्भमा लुकेको छ ।

शवसँगै भेटिएका सामान :
लामो खोज–अनुसन्धानपछि जर्ज मेलोरीको शवसँगै केही सामान त भेटिए तर उनको क्यामेरा फेला पर्न सकेन । लाससँगै भेटिएका सामानहरुमा ब्रान्ड एन्ड कम्पनी साभोरी मिट लेनोज लेखेको सुख्खा खानेकुराको टिनको बट्टा, सिसा फुटेको पित्तलको अल्टिमिटर, पकेट चक्कु, छाप भएको रुमाल, भित्री पकेटमा एक जोडी सनग्लास, मोजा, जिंक अक्साइड, केही चिठीपत्रहरु, स्वानभिस्ता नामक सलाईको बट्टा, स्कार्फमा छोपेर राखिएको रुथ वाहेकका केही फोटोग्राफी, ए डब्लु गामाका लेखेको बिल, जहाँबाट उनले फिर्ता गर्ने सर्तमा पाँच जोडी ग्लोभ्स लिएका थिए ।

पर्वतारोहण क्षेत्रमा उनको देन :

तत्कालीन समयका चर्चित पर्वतारोही थिए मेलोरी । त्यसैले सन् १९२३ मा उनी अमेरिका जाँदा न्युयोर्क टाइम्सले एक अन्तर्वार्ता लिएको थियो । तपाईं किन माउन्ट एभरेस्ट चढ्न चाहनुहुन्छ ? भन्ने प्रश्नमा उनले यस्तो जवाफ दिएका थिए, ‘बिकज इट्स देयर’ । यो कुराले यति चर्चा पायो कि आज पनि पर्वतारोहण क्षेत्रमा यो शब्द विश्वचर्चित नै छ । उनीहरुले पछ्याएका पाइलालाई पछ्याउँदै २९ वर्षपछि २९ मे १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एड्मन्ड हिलारीले सर्वप्रथम चुचुरो चुम्दासमेत उनीहरुले भनेका थिए, ‘शिखरमा पुगेर वरपर हेर्‍यौं । मेलोरीको स्मृति आयो । उनले शिखरसम्म पुगेर फर्केको कुनै संकेत छ कि भनेर खोज्यौं तर केही फेला पर्न सकेन । तैपनि एभरेस्टमा उनीहरुले मानवीय गतिविधि शुरु गरेको परिणामस्वरुप नै आफूहरुले चुचुरो चुम्न सफल भएको हो । त्यो देनका लागि हामीले मेलोरी र उनका साथीहरुको सम्झना गर्‍यौं ।’

त्यसपछि प्रत्येक वर्ष सगरमाथामा अनेकौं रेकर्ड राख्नेदेखि थुप्रैले आरोहण गर्ने गरेका छन् । हालसम्म सगरमाथा चढ्नेको संख्या हेर्दा ७ हजारभन्दा बढी पुगिसकेको छ । वास्तवमा त्यो बेलाका चर्चित पर्वतारोही मेलोरीले सगरमाथा चुम्न लामो संघर्ष र निरन्तर प्रयास जारी राखे। सर्वोच्च शिखर चुमेको पुष्टि हुन नसके पनि चुम्न खोज्दा दुर्घटनामा परी उनी हराएको दिन ८ जुनलाई नै सगरमाथा दिवस मान्नु उपयुक्त हुने थियो । ८ जुन उनको स्मृति दिवस भएकाले पुनः सम्झनास्वरुप उनी र उनको टिमप्रति हार्दिक नमन गर्न चाहन्छु ।

(लेखक पोख्रेल निजामती कर्मचारी सगरमाथा आरोही हुनुहुन्छ ।)