एमाले मकवानपुरको नेतृत्वमा पोखरेल



हेटौंडा ।

नेकपा एमाले मकवानपुरको नयाँ नेतृत्वमा श्रीधर पोखरेल विजयी भएका छन् । सोमबार भएको मतगणनामा पोखरेलले ३ सय १३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

उनले अब एमाले मकवानपुरको नेतृत्व सम्हाल्नेछन् । अध्यक्षका अर्का उम्मेदवार इन्द्रमान स्यांतानले २ सय ६२ मत प्राप्त गर्दा लालबहादुर थापाले १ सय ६६ र देवराज रिमालले ११ मत प्राप्त गरेका छन् ।

२०३७ देखि २०४० सम्म अनेरास्ववियुको अध्यक्ष भएर नेतृत्व गर्नुभएका पोखरेल २०४३ सालमा भएको निर्वाचनमा जनपक्षीय उम्मेदवार जिताउने अभियानमा सक्रिय बनेका थिए । २०४४ सालमा जनपक्षीय मञ्चको सचिव बनेका पोखरेल मकवानपुरका गाउँबस्ती पुग्दै कम्युनिष्ट आन्दोलनलाई उत्कर्षमा पु¥याउन सक्रिय रहे ।

२०४६ को जनआन्दोलनमा समेत उनको सक्रियता थियो । विद्यार्थी आन्दोलनको नेतृत्व गरिरहेका पोखरेल २०५४ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको उपाध्यक्ष बने । उनले युवा संघका नारायणी अञ्चल इञ्चार्ज, केन्द्रीय सदस्यको भूमिका निर्वाह गरिसकेका छन् ।

पिपुल भोलेन्टियर राष्ट्रिय कमिटी सदस्यसमेत बनेका पोखरेल युवा र विद्यार्थीका क्षेत्रमा काम गरेको अनुभवबाट २०५२ सालमा नेकपा एमाले जिल्ला कमिटी मकवानपुरको सदस्य भएका थिए । २०५४ सालदेखि १२ वर्ष पोखरेलले कार्यालय सचिवको भूमिका निर्वाह गरे । २०६२ सालमा नेकपा एमालेको सचिवको भूमिका निर्वाह गरिसकेका पोखरेलसँग २०३६, २०४६ र २०६२–०६३ जनआन्दोलनमा सहभागी बनेको र नेतृत्व गरेको अनुभव छ ।

पार्टी उपाध्यक्षमा हिदम लामा विजयी भएका छन् । उनले ४ सय ७६ मत प्राप्त गरे । संस्थापन पक्षका नेता रघुनाथ खुलालले उम्मेदवार स्यांतानलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।

उपाध्यक्षमा सुनील मोक्तानले १ सय ९७, भरत दुलालले ३८ र ध्रुव चौलागाईंले २६ मत प्राप्त गरे । सचिवतर्फ सीता बिष्ट विजयी भएकी छन् । उनले २ सय ९७ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी मदनकुमार दाहालले २ सय ५५ मत र अर्का उम्मेदवार राजन थापाले १ सय ७१ मत प्राप्त गरे ।

उपसचिव पुरुषतर्फ फुर्वा लामा निर्वाचित भएका छन् । उनले २ सय ४१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उपसचिवमा दीपक खड्काले १ सय ६७, इन्द्र नेपालले १ सय २९, कृष्णप्रसाद चौलागार्इंले ८६ र खेमराज जर्गामगरले १ सय मत प्राप्त गरे । उपसचिव (महिला) आरती पाठक विजयी भएकी छन् । उनले २ सय ४१ मत प्राप्त गरिन । उपसचिवका उम्मेदवारहरु कल्पना बलामीले १ सय ५६, जुना दाहालले १ सय ५२ र पार्वती रानाले १ सय ७२ मत प्राप्त गरेका छन् ।

सचिवमा मदनकुमार दाहाल, सीता बिष्ट, सुमित्रा काफ्ले, नरहरि महत र राजन थापाको उम्मेदवारी परेकोमा काफ्ले र महतले उम्मेदवारी फिर्ता लिएका थिए । उपसचिव खुलातर्फ नेपाल, चौलागार्इं, खड्का, दोर्जेलामा र जर्गामगर, उपसचिव महिलातर्फ बलामी, दाहाल, पाठक र रानाको उम्मेदवारी परेकोमा महिलातर्फ सबै उम्मेदवारी कायम रह्यो ।पाँच जना पदाधिकारीसहित १ सय ५ सदस्यीय जिल्ला कमिटी चयनका लागि निर्वाचन भएको हो ।

जिल्लाका ११ हजार ६ सय ८४ पार्टी सदस्यबाट अधिवेशनका लागि प्रतिनिधि चयन गरिएको थियो । अधिवेशनमा कुल ७ सय ७७ जना प्रतिनिधि थिए । जसमा ७ सय ६५ जनाले आइतबार मतदान गरेका थिए । १० प्रतिशत सदस्य निर्वाचन जिल्ला कमिटीले मनोनीत गर्न सक्ने विधानतः व्यवस्था छ । पदाधिकारीको मतगणना सकेलगत्तै अब सदस्यको मतगणना गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्