हुन्डीविरुद्ध सशस्त्र प्रहरीको सक्रियता : १ करोड ७५ लाखसहित १० जना पक्राउ



काठमाडौं ।

मुलकभर अवैध हुन्डीको कारोबार गर्ने समूह सक्रिय भएपछि प्रहरीले पनि आफ्नो सक्रियता तीव्र बनाएको छ। बितेका दुई दिनमा प्रहरीले १ करोड ७५ लाख नेपाली रुपियाँसहित १० जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बलले सुनसरीको हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर नजिकबाट हुन्डीको कारोबारको आशंका गरिएको एक करोड एक लाखसहित हरिनगर–५ का इसा अन्सारीलाई पक्राउ गरेको छ। बरामद रकमसहित कार र चालकलाई राजस्व अनुसन्धान कार्यालय पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक शैलेन्द्र थापाले बताउनुुभयो।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट वसन्तपुरको चेकप्वाइन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६च ७६१३ नम्बरको कार खानतलासी गर्दा बोरामा लुकाइराखेको अवस्थामा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ। यसैबीच काठमाडौं महानगरपालिका–७ स्थित लुम्बिनी खाजा घर तथा गेस्ट हाउसबाट स्रोत नखुलेको ७२ लाख रुपियाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२४ न्युरोड बस्ने भोजपुर पौवा डुग्मा गाउँपालिका–४ घर भएका भीमसेन विश्वकर्मा र खेमराज विश्वकर्मा रहेका छन्। उक्त गेस्ट हाउसमा हुन्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई नगदसहित पक्राउ गरेको हो।

त्यस्तै, पर्सा, वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको ४ लाख ८२ हजार नेपाली रुपियाँ र १ लाख ७२ हजार ५ सय भारतीय रुपियाँसहित धादिङ धुनीवेंशी नगरपालिका–१ बस्ने ३२ वर्षीय राजन तामाङसमेत ६ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा. २० च ४८४१ नम्बरको गाडी खानतलासी गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्