साउदी लिगमा पनि रोनाल्डोको कीर्तिमान



एजेन्सी ।

साउदी प्रो लिगको २०२३–२४ सिजन समाप्त भएको छ। अल हिलाल साउदी लिग च्याम्पियन बन्यो भने क्रिस्टियानो रोनाल्डो आबद्ध क्लब अल नासर दोस्रो स्थानमा सीमित भयो । अल हिलाल (९६ अंक) र अल नासरको अंक भिन्नता १४ रहेको थियो।

अल हिलाल १९ औं पटक लिग विजेता बन्न सफल भएपछि रोनाल्डोले उनको क्लबलाई उपाधि दिलाउन असफल भए । किंग कपमा पनि अल नासरको लागि अल हिलाल नै उपाधि जित्न बाधक बन्यो। तर, पाँच पटकको बेलन डिओर विजेता रोनाल्डोले उनको टोलीलाई उपाधि दिलाउन नसकेपनि साउदी लिगमा कीर्तिमान भने रचे।

उनले ३१ खेलमा ३५ गोल गरेर एकै सिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाउन सफल भए। रोनाल्डोले अब्दररजाक हामादाल्लाहले २०१९ सिजनमा सर्वाधिक ३४ गोल गरेर बनाएको कीर्तिमान तोडेका हुन्।

साथै रोनाल्डोले चार ह्याट्रिक पनि गरेर उनको सिजनलाई उल्लेखनीय समेत बनाए । उनले सर्वाधिक गोल गरेपछि सुनको जुत्ता पुरस्कार पाए। उनी चार लिगमा सुनको जुत्ता जित्ने एक्लो खेलाडी समेत बने । यसअघि प्रिमियर लिग, ला लिगा र सिरी ए मा उनले सुनको जुत्ता जितेका थिए।

रोनाल्डोले गत सिजन २०२२–२३ मा कूल १४ गोल गरेका थिए । यस सिजन २०२३–२४ मा भने उनी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे। उनको क्लबका लागि कूल ६३ गोल भइसकेको छ । जसले उनलाई साउदी लिगमा सर्वाधिक गोलकर्ताको सूचीमा चौथो स्थानमा पुर्‍याएको छ।

विश्व चकित लगानी
जुन २०२३ मा रियादका अल हिलाल र अल नासर तथा जेदाहका अल अहली र अल इत्तिहाद गरी चार क्लबहरूले निकै ठूलो लगानी गरेका थिए। यी

क्लबहरूको लगानी देखेर विश्व फुटबल नै चकित पर्‍यो पनि। स्रोतअनुसार यी चार टोलीले कूल ७५० मिलियन पाउन्ड खर्च गरेका थिए । जुन रकमले विश्व फुटबललाई नै स्तब्ध बनायो ।

साउदी प्रो लिगले लगानी निकै ठूलो आकारमा गरेपछि क्रिस्टियानो रोनाल्डो र नेयमार जस्ता सुपरस्टार खेलाडीलाई समेत लोभ्याउन सफल भयो । मोटो रकम देखेपछि छुट्टै स्वादको बहानामा रोनाल्डो पनि युरोपियन लिग छाडेर गल्फतिर स्थानान्तर भए । उनलाई म्यानचेस्टर यूनाइटेडबाट अल नासरले अनुबन्ध गरेको थियो । गल्फ देशमा आएका रोनाल्डोले कीर्तिमान रच्न पछि परेनन् ।

नेयमारबिनै हिलाल च्याम्पियन

ब्राजिली स्टार खेलाडी नेयमार रोनाल्डो जस्तै युरोपियन लिग छाडेर अल नासरमा आबद्ध भए। नेयमार चोटका कारण मैदानबाहिर नै रहनुपर्‍यो। यसको बावजुद उनको क्लब अल हिलाललाई कुनै समस्या भएन। टोलीले उनीहरूका सुपरस्टारविना नै लिग र किंग कप उपाधि जित्यो। अल हिलालका लागि फुलहामबाट आएका एलेक्सान्डर मिट्रोभिचले २९ गोल गरे।

अल हिलालसँग विदेशी खेलाडीबाहेक साउदी अरेबियाको राष्ट्रिय टोलीका स्टार खेलाडी पनि छन्। साउद अब्दुलहमिद र एसियाका वर्ष खेलाडी सलेम अल दावसारी हुन् । सलेमले २०२२ विश्वकपमा अर्जेन्टिनाविरुद्ध गोल गरेका थिए। यस्तै, लिगमा तेस्रो स्थानमा रहेको अल अहली साउदीबाट म्यानचेस्टर सिटीबाट खेलिसकेका रियाद महरेज र एलेन सेन्ट मेक्सिमीनले खेले । रोबेर्टो फिर्मिनोले पनि खेले। तर उनले जम्मा ९ गोल गरेका थिए । जबकी साउदी अरेबियाका सर्वाधिक चर्चित खेलाडी फिरास अल बुराइकनले १७ गोल गरेका थिए।

पाँचौं स्थानमा रहेको अल इत्तिहादले भने निरास गर्‍यो । गत सिजनमा लिगमा विजेता बनेको अल इत्तिहादले करिम बेन्जेमा, फाबिन्हो र एनगोलो कान्टेलाई अनुबन्ध गरेपनि खासै काम भएन । रियल मेड्रिडलाई कयौं उपाधि दिलाइसकेका स्ट्राइकर बेन्जेमा चोटबाट मुक्त हुन संघर्षरत रहे । बेन्जेमाले यस सिजनमा जम्मा ९ गोल गरेका छन् ।

सलाह, एलिसन आउने संभावना

अर्को सिजनमा साउदी लिगका क्लबहरूले इंग्लिस प्रिमियर लिग स्टार खेलाडी मोहम्मद सलाह, एलिसन र क्यासेमिरोलाई किन्ने सूचीमा राखेका छन् । यदि उनीहरू साउदीमा प्रवेश गरेमा साउदी प्रो लिग अझै प्रतिस्पर्धात्मक हुने र युरोपियन लिगलाई चुनौती दिन तयार हुने क्लबहरूको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्