मेहेलकुना अस्पतालको घटनाप्रति एनएमएको गम्भिर ध्यानाकर्षण, दोषीलाई कारबाहीको माग



काठमाडौं । 

सुर्खेतस्थित मेहेलकुना अस्पतालमा स्वास्थ्यकर्मीहरूमाथि भएको हातपात तथा अस्पतालमा भएको तोडफोडको विषयमा नेपाल चिकित्सक संघ (एनएमए)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सर्प दंशबाट पीडित एक बालक उक्त अस्पतालबाट रिफर भई थप उपचारका लगी प्रदेश अस्पताल, सुर्खेत लाने क्रममा मृत्यु भएको घटनामा उपचारमा असन्तुष्टि जनाउँदै यही जेठ १२ गते मेहेलकुना अस्पतालका स्वास्थ्यकर्मीहरूमाथि आफन्तले हातपात तथा अस्पतालमा तोडफोड गरेको घटना प्रति एनएमएको गम्भीर ध्यानाकर्षण भएको हो ।

प्रेस विज्ञप्तिमा भनिएको छ ’सर्प दंशबाट पीडित एक बालकलाई प्राथमिक उपचार गरेर बिरामीका आफन्तलाई पछि आउन सक्ने जटिलताहरूको बारेमा जानकारी गराई थप उपचारका लागि प्रदेश अस्पताल, सुर्खेत रेफर गरिएकोमा बाटोमा लैजाँदै गर्दा उक्त बालकको मृत्यु भएको थियो ।

यसै विषयलाई लिएर अस्पताल जस्तो संवेदनशील क्षेत्रमा तोडफोड गर्ने तथा स्वास्थ्यकर्मीहरूमाथि हातपात गर्ने जस्ता अपराधिक कार्य गरेको घटनाको नेपाल चिकित्सक संघ घोर भर्त्सना तथा निन्दा गर्दछ ।’ एनएमएले उपचारको क्रममा कुनै त्रुटि भएको शंका लागेमा कानुनी प्रक्रियामा जाने बाटो सबैका लगी खुलला भएको तर यस्ता धरपकडले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुग्ने भन्नै स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रलाई आतंकित पार्ने गरी घटाइएको अस्वाभाविक घटनामा संलग्न दोषीलाई कारबाहीको माग गरेको छ ।

‘उपचारको क्रममा कुनै त्रुटि भएको शंका लागेमा कानुनी प्रक्रियामा जाने व्यवस्था हुँदाहुँदै स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि नै आक्रमण गर्ने कार्यले स्वास्थ्यकर्मीहरुको मनोबलमा आँच आई स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुग्ने गरेको कुरा हामी सबैलाई अवगत नै छ ’ विज्ञप्तिमा भनिएको छ ।

एनएमएले भनेको छ “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन २०६६ (पहिलो संशोधन), २०७९“ बमोजिम कानुनी कारवाही गरी सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ ।’

स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रलाई आतंकित पार्ने गरी घटाइएको अस्वाभाविक घटनामा संलग्न दोषीहरु अस्पतालको सिसिटिभी क्यामरामा कैद भएकाले सो को अविलम्ब पहिचान गरी दोषीलाई कानूनको दायरामा ल्याई कानुन बमोजिम कडा कारबाहीको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्