पर्यटन प्रचारप्रसार गर्न साहित्यिक सम्मेलन



धादिङ । 

बागमती प्रदेशको पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धन गर्नका लागि धुनिबेसी नगरपालिका वडा नम्बर ५ गोरखनाथ मन्दिर परिसरमा साहित्यिक सम्मेलन आयोजना गरिएको छ । साहित्य मार्फत पर्यटन प्रवर्द्धन गर्नका लागि धेरैजसो साहित्यकारहरुले कविता वाचन गरे ।

धुनिवेसीमा २०७२ पछि निर्माण भएको विजयपुर स्थित गोरखनाथ मन्दिर, महेशनारायण मन्दिर, महेशनारायण गुफा, चमेरे गुफा, महालक्ष्मी मन्दिर, बच्छलादेबी मन्दिर, हनुमानढोकामा फुलपाती लाने कोटा कालिका मन्दिर, कृष्ण मन्दिर, त्रिकुटेश्वर मन्दिर, भुवनेशवरी, कालीदेबि, सेतिदेबी आदी मन्दिरै मन्दिर भएको धुनिबेसि नगरपालिकामा घुम्न आउन पर्यटकहरुलाई नगरप्रमुख बालकृष्ण आचार्यले अनुरोध गरे ।

 धादिङ मिडिया नेटवर्कले आयोजना गरेको साहित्यिक सम्मेलनको बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले सहयोग गरेको हो ।
धादिङ जिल्ला र दोलखा, ललितपुर, नुवाकोटका साहित्यकारहरुको सहभागिता थियो।

काठमाडौँबाट नजिक पर्ने तिनछाँगे झरना, तोपलाङ होमस्टे, तोपलाङ भ्यू टावर, महेशखोला र सुन्दर फाट अनि धुनीबेसिबाट देखिने गणेश हिमाल, अन्नपुर्ण रेन्ज आदी मनमोहक र आकर्षक स्थल भएरपनि प्रचार प्रसारको अभावमा ओझेलमा परेकोले सबै मिलेर प्रवर्धन गर्न आचार्यले आग्रह गरे । 

धुनिबेसीको विकास बिस्तारै गर्दैआएको अवस्थामा पर्यटनको विकास गर्नुपर्ने साहित्यकारहरुले बताएका छन् ।

प्राध्यापक डा. मोहन तिमल्सिनाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार व्यंगकार नरनाथ लुईटेल, डा हरि सिलवाल, डा। नवराज लम्साल, डा। वलदेव अधिकारी, शिव घिमिरे, पुर्णिमा खरेल, सिर्जना अर्याल, उपेन्द्र लम्साल, कल्पना अधिकारी, रमेश अधिकारी लगायतले कविता तथा वयंग प्रस्तुत गरे ।
बागमती प्रदेशको पर्यटन विकास गर्नका लागि कविता तथा अन्य विधाबाट प्रवर्द्धन गर्नुपर्ने साहित्यकारहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्