वार्षिकोत्सवका अवसरमा नेपाल क्यान्सर अस्पतालको पदयात्रा



काठमाडौँ। 

नेपाल क्यान्सर अस्पतालको ७औँ वार्षिकोत्सवका अवसरमा जनचेतनामूलक सन्देश दिन पदयात्रा कार्यक्रमको आयोजना गरिएको छ।

ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालले आफ्नो ७ औँ वार्षिकोत्सवको अवसर पारेर विभिन्न जनचेतनामूलक सन्देश रहेका प्लेकार्डसहित ललितपुरको लगनखेल-पुल्चोक हुदै जावलाखेलसम्म पदयात्रा गरेको हो।

पदयात्रामा क्यान्सर सरुवा रोग होइन, गुणस्तरीय निदान र उपचार हाम्रो प्रतिबद्धता, समयमै उपचार क्यान्सरको निदान, क्यान्सर हुँदैमा डराउनु पर्दैन, क्यान्सरसँग लड्ने हो डराउने होइन, समय निकालेर आफू र आफ्नो स्वास्थ्य परीक्षण गरौँ, नेपालीको उपचार नेपालमा नै, क्यान्सरको जनचेतना आफ्नै घरबाट सुरु गरौँ, क्यान्सरसँग मिलेर जितौँ जस्ता प्लेकार्ड बोकिएको थियो।

त्यसैगरी, मंगलबजार तथा जावलाखेल अस्पतालका डाक्टर, नर्स कर्मचारी तथा क्यान्सर विजेताहरुले जनचेतनामूलक सन्देशसहित नृत्यबाट मनोरन्जनात्मक प्रस्तुति समेत दिएका थिए।

अस्पतालले वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी रुपमा निःशुल्क ओपिडी, रक्तदान कार्यक्रम लगायत विविध कार्यक्रमहरु आयोजना समेत गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्