मोटरसाइकल चोरीमा संलग्न ४ जना प्रहरीको नियन्त्रणमा



काठमाडौँ। 

मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई बिहीबार ट्राफिक प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका २ घर भई हाल काठमाडौँको अनामनगर बस्ने २२ वर्षीय विशाल रैका, कालिकोटको सान्नीत्रिवेणी गाँउपालिका ६ घर भई काठमाडौँको कपन बस्दै आएका २६ वर्षीय नवीन शाही, सान्नीत्रिवेणी गाँउपालिका ५ घर भई हाल कपन बस्ने ३० वर्षीय रमेश बम र कालिकोटकै रास्कोट नगरपालिका ५ घर भई हाल काठमाडौँको नयाँबानेश्‍वर बस्ने २५ वर्षीय मुकुन्द शाहीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

वास्तविक नम्बर परिवर्तन गरी लु ६८ प ०९ ४३ नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकल सहित काठ्माडौंको पद्मोदयमोडबाट विशाललाई हिजो ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा आएका विशाललाई सोधपुछ गर्दा उक्त मोटरसाईकल नविनले दिएको बताएका थिए । नवीनको खोजी गर्ने क्रममा वास्तविक नम्बर परिवर्तन गरी से ५ प ८० ३८ नम्बर राखी चलाइरहेको अवस्थामा चालक रमेश सहित पछाडि सवार नवीनलाई समेत काठमाडौँको भृकुटी मण्डपबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा आएका उनीहरुलाई सोधपुछ गर्ने क्रममा आफूहरुलाई ०९ ४३  मोटरसाइकल मुकुन्दले दिएको बताए पश्‍चात मुकुन्द समेत काठ्माडौंको बानेश्‍वर खरिवोटमा हिजै फेला परेका थिए ।

नियन्त्रणमा आएका चारै जनालाई अनुसन्धान तथा कारबाहीका लागि आज प्रहरी वृत्त नयाँबानेश्‍वर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए  ।

विशालले चलाएको ०९ ४३ नम्वरको मोटरसाइकल वास्तविक नम्बर मधेस प्रदेश ०३-०२५ प ७७ ९६ नम्बरको मोटरसाइकल काठमाडौँको काँडाघारीबाट हराएको र रमेशले चलाएको ८० ३८ नम्वरको मोटरसाइकल वास्तविक नम्बर बाग्मती प्रदेश ०२-०३४ प ८१ ४५ नम्बरको मोटरसाइकल ललितपुरबाट हराएको भनी पीडितले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्