सुख्खा पहिरोले अलपत्र परेका पर्यटकको उद्धार



दोलखा।

दोलखाको विगु गाँउपालिका वडा नम्बर– १ देउरालीमा सुख्खा पहिरो खसेर बाटो अवरुद्ध भै अलपत्र परेका ६० जना पर्यटक बैकल्पिक मार्ग मार्फत लामाबगर आइपुगेको स्थानीयले बताएका छन् । सासा हाईड्रो पावरले खनेको सडकमा सुख्खा पहिरो खसेको थियो ।

पहिरोले सडक अवरुद्ध भएपछि चीनसंगको सिमाना लप्ची गाँउमा रहेको लप्ची रेछेन शेर्पा दोर्जे गुम्बा तथा ध्यानकेन्द्रको उद्घाटन र दीर्घायु पुजामा सहभागि भै फर्कदै गरेका २५ विदेशी सहित झण्डै ६० जना पर्यटक देउराली क्षेत्रमा अलपत्र परेका थिए । उनीहरु दुगड ग्रुपको सहयोगमा बैकल्पिक मार्ग प्रयोग गरी लामाबगर आइपुगेको विगु गाँउपालिका वडा नम्बर– १ का वडा अध्यक्ष मेम बहादुर तमाङले बताए ।

सुख्खा पहिरो गएको ठाँउ माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ड्याम रहेको लामाबगर भन्दा झण्डै तीन किलोमिटर माथि पर्ने वडा अध्यक्ष तमाङले बताए । सुख्खा पहिरो गएको ठाँउमा पुग्न माथिल्लो तामाकोशी आयोजनाको ड्यामसंगैको एक किलोमिटर सुरुङ मार्गहुदै तीन किलोमिटर पार गर्नुपर्ने वडा अध्यक्ष तमाङले बताए ।

शुक्रवार विहान १०ः३० बजे झरेको सुख्खा पहिरोले झण्डै दुई घण्टा तामाकोशी नदी थुनिएको थियो । नदी थुनिएको खबर पाएपछि तामाकोशी आयोजनाले विद्युत् उत्पादन गरेर ड्यामको पानी घटाएको र अहिले नदी खुलेर पानी सामान्य अवस्थामा बग्न थालेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले बताए । सुख्खा पहिरोले तामाकोशी नदी थुनिए पनि माथिल्लो तामाकोशी आयोजनालाई कुनै समस्या नभएको प्रमुख कार्यकारी अधिकृत गौतमको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्