सुख्खा पहिरो खस्दा ६० पर्यटक अलपत्र



दोलखा।

दोलखाको विगु गाँउपालिका वडा नम्बर– १ देउरालीमा सुख्खा पहिरो खसेर बाटो अवरुद्ध भएपछि ५० भन्दा बढी पर्यटक अलपत्र परेका छन् । दुगड ग्रुपको सासा हाईड्रो पावरले खनेको सडकमा सुख्खा पहिरो खसेपछि आवत- जावत बन्द भएको छ ।

पहिरोले सडक अवरुद्ध भएपछि चीनसंगको सिमाना लप्ची गाँउमा रहेको लप्ची रेछेन शेर्पा दोर्जे गुम्बा तथा ध्यानकेन्द्रको उद्घाटन र दीर्घायु पुजामा सहभागि भै फर्कदै गरेका २५ विदेशी सहित झन्डै ६० जना पर्यटक अलपत्र परेको विगु गाँउपालिका वडा नम्बर– १ का वडा अध्यक्ष मेम बहादुर तमाङले बताए । दुगड ग्रुपलाई बैकल्पिक सडक खनेर भएपनि अलपत्र परेका पर्यटकलाई उद्धार गर्न आग्रह गरिएको र अहिले बैकल्पिक व्यवस्थाको लागि प्रयास भै रहेको वडा अध्यक्ष मेम बहादुर तमाङले बताए ।

 सुख्खा पहिरो गएको ठाँउ माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ड्याम रहेको लामाबगर भन्दा झन्डै तीन किलोमिटर माथि पर्ने वडा अध्यक्ष तमाङले बताए । सुख्खा पहिरो गएको ठाँउमा पुग्न माथिल्लो तामाकोशी आयोजनाको ड्यामसंगैको एक किलोमिटर सुरुङ मार्गहुदै तीन किलोमिटर पार गर्नुपर्ने वडा अध्यक्ष तमाङले बताए ।

सुख्खा पहिरोले झन्डै दुई घण्टा तामाकोशी नदी थुनिएको थियो । नदी थुनिएको खबर पाएपछि तामाकोशी आयोजनाले विद्युत् उत्पादन गरेर ड्यामको पानी घटाएको र अहिले नदी खुलेर पानी सामान्य अवस्थामा बग्न थालेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले बताए ।

सुख्खा पहिरोले तामाकोशी नदी थुनिए पनि माथिल्लो तामाकोशी आयोजनालाई कुनै समस्या नभएको प्रमुख कार्यकारी अधिकृत गौतमको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्