हुरीले उडाएको जस्ताले लागेर १०७ वर्षीय वृद्धको मृत्यु



पर्सा ।

हुरीबताससहितको बिहीबारको वर्षाले १०७ वर्षीय वृद्धको मृत्यु भएको छ। विन्ध्वासिनी गाउँपालिका–२ का गुबेरी साहको हुरीले ल्याएको छिमेकीको घरको जस्ताले लागेको मृत्यु भएको हो। घरमा बसिरहेका उनी धारिलो जस्ताले लाग्दा गम्भीर घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक केशर न्यौपानले उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बताए। हुरीका कारणले पर्साको बहुदरमाई गाउँपालिका–७, बहुवनमा रहेको एनसेलको टावर ढलेर एक जना घाइते भएका छन्।

घाइते हुनेमा ६० वर्षीय जोगेन्द्र महतो छन्। उनी वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन्। सोही गाउँपालिकामा हुरीबतासका कारण चारवटा बाख्रा पनि मरेका छन्। हुरीबतासले पर्साको प्रहरी बिटका छानोसमेत उडाएको छ। जिल्लामा हुरीका कारणले भएको क्षतिको विवरण संकलन जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्