अत्यधिक गर्मीले एकको मृत्यु



काठमाडौं ।

विगत दुई दिनदेखि तराईका जिल्लामा बढेको अत्यधिक गर्मीले जनजीवन कष्टकर बन्दै गएको छ। गर्मीकै कारण कैलालीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीको कैलारी गाउँपालिकाका इन्द्रबहादुर राना मगर रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख लोकेन्द्र चन्दका अनुसार राना बर्दियाबाट कैलालीको मसुरिया बजार झरेपछि मसुरियाबाट हसुलिया बजारको लागि हिँडेको से १ ख ८१० नम्बरको बसमा आमा बुबासहित यात्रा गरिरहेका थिए। उनको अत्यधिक गर्मीपछि हृदयघातका कारण नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

पछिल्लो केही दिनयता पश्चिम तराईको बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा अत्यधिक गर्मी बढेको छ। बिहीबार ती जिल्लाको तापमान ४० देखि ४४ डिग्री सम्म पुगेपछि जनजीवन अस्तव्यस्त बनेको हो।

काठमाडौं उपत्यकाको बिहीबारको तापक्रम पुनः बढेर ३३ डिग्री सेल्सियस पुगेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो। विगत केही दिनयतादेखि काठमाडौंको तापक्रम बढ्दै गइरहेको उहाँले बताउनुभयो।

मौसमविद् मानन्धरले भन्नुभयो– ‘नेपालमा अहिलेसम्म मनसुन भित्रिएको छैन, भारतमा आज मात्रै भित्रिएको छ । मनसुन नेपाल आइपुग्न अझै एक हप्ता लाग्ने भएकाले तापक्रम अझै बढ्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस्