विश्वकपको अभ्यास खेलअन्तर्गत आज अमेरिकासँग खेल्दै नेपाल



काठमाडौं ।

नेपालले टी-२० विश्वकप अघि आज अमेरिकाविरुद्ध अभ्यास खेल खेल्दै छ। डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि सुरु हुने छ।

नेपालले यस अघि क्यानडाविरुद्ध खेलेको पहिलो अभ्यास खेलमा ६३ रनको हार बेहोरेको थियो। आईसीसी वरियतामा नेपाल १७औँ स्थानमा छ भने अमेरिका १९औँ स्थानमा रहेको छ। विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ।

नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन्। टी-२० विश्वकपमा नेपाल समूह डी मा रहेको छ। यस समूहमा नेपालसहित दक्षिण अफ्रिका, बङ्गलादेश, श्रीलङ्का र नेदरल्याण्डस रहेका छन्।

विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलङ्कासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बङ्गलादेशसँग खेल्ने तालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्