परम्परागत दुर्व्यसनका सन्दर्भमा भ्रष्टाचार

98
Shares

दुर्व्यसन जो स्वभावका रुपमा विकसित हुन्छ । कदाचित् स्वभावभन्दा पनि बलियो हुन्छ । दृढसङ्कल्प लिएर सार्थक प्रयत्न नगर्दासम्म छोड्न सकिँदैन । कति दुर्व्यसनहरु धार्मिक, सांस्कृतिक र परम्परागत पनि हुन सक्छन् । अर्थ–राजनीतिक पनि हुन सक्छन् व्यसन । वैज्ञानिक शोध र चेतनागत विकासका क्रममा तिनीहरु चिनिदै जान्छन् । यसका लागि शताब्दीयौँ लाग्न पनि सक्छ ।

दुर्व्यसन भन्नेबित्तिकै हामी विभिन्न लागूपदार्थको लत भन्ने ठान्छौँ । चलनचल्तीमा चर्चा धेरैजसो त्यसैको चलिआएको पाइन्छ । व्यक्ति र समाजलाई तात्कालिक र बढी असर पार्ने दुव्र्यसन पनि तिनै हुन् ।

मैले १५ वर्षको उमेरमा धैबुङ गुरुगृहमा पढ्न बस्दा एउटा घटना–कथा सुनेको थिएँ । कथा यस्तो थियो– ‘त्रिशूली महानदीपारि फाँटमा नदी तीरैनिर एक किसान खेत जोतिरहेका थिए । वारि फाँटमा पनि त्रिशूली किनारैनिर यताका एक किसान खेत जोतिरहेका थिए। दिउँसो छक्कालको समय थियो। वारिका किसानलाई सुर्तीको तलतल लाग्यो। पोल्टामा छामे, बास्सा (कपडाको विशेष थैलो) थिएन। हतारमा घरमै छुटेछ । लिन जाऊँ भने घरनजिक थिएन। लत न हो । खाऊँ–खाउँले सतायो । धेरै नै सतायो । यस्तैमा पारिका किसानले जोतान रोकेर पोल्टाबाट बास्सा झिकी सुर्ती निकालेको र हातमा राखेर माड्न थालेको दृश्य वारिको तलतलपीडित किसानले देखे । मलाई पनि दिनोस् न भन्ने इशारा गरे हातले । पारिको किसान ठट्यौला थिए। औँलाहरुले सुर्ती च्यापेर देखाउँदै ल लिन आऊ भन्ने इशारा गरे । वारिको किसानले आफ्नो अवस्था, महानदी त्रिशूलीको अवस्था सबै बिर्सेर सुर्ती थाप्न झवाम्मै त्यस असमेल नदीमा हेलिए । बिचरा किसान सुर्तीसम्म त पुगेनन्–पुगेनन्, आफ्नो खेतमा जोत्न पनि फर्केनन् । यस्तो हुन्छ तलतलको करामत । यसले ज्यान लिन पनि सक्छ ।’

तलतल प्रकारान्तरले कुलत हो । दुव्र्यसन हो । त्यसताका गाउँबस्तीहरुमा दुव्र्यसन शब्द चलनचल्तीमा थिएन । सबैले तलतल नै भन्थे । लौन तलतल लाग्यो, तमाखु छैन ? सुर्ती छैन ? सोध्न कसैले कसैसित लजाउनुपर्दैनथ्यो । पुराना कवि र कवितामा तमाखुबारे एउटा कविता पढ्न पाइन्छ । कविता व्यङ्ग्यजस्तो पनि छ । कविताको एउटा श्लोक जस्तै–

भलादमीमा गनियूँ भनेर
इच्छा भए क्यै तिमीलाई हेर । 
आज्कालको मुख्य सुसभ्य चाल
तमाखु टुक्र्याउन थालिहाल ।

गाउँघरका हुनेखाने, साहु, तालुकदार, पुरेत, पण्डित सबैजसो ठूलाठालुहरु पाल्पाली हुक्का नारेर पातोवाल बुट्टे चिलिममा तमाखु टुक्र्याउँथे । ती भन्दा साधारणहरु सोतेमा चिलिम जोडेर तमाखु तान्थे । सर्वसाधारणहरु सानो चिलिममा भुस्याहा तमाखु भरेर तान्थे । कति पुरेत, पण्डितहरु पवित्रता जोगाउन तमाखु नखाएर सुर्ती चुस्थे । कति सुर्ती सुकाएर हातमै माडी–माडी धूलो पार्थे र नाकले सुइयँ तान्थे । त्यसरी तान्नुलाई नस हाल्ने भनिन्थ्यो । एकाध मानिस त गाउँतिर भिक्षाटन गर्न आएका जोगीसँग बसेर एक–दुई सर्को गाँजा पनि तान्थे । पछि चुरोट–बिँडीले तमाखुको ठाउँ लियो । त्यसताका मानिसहरुमा यो दुव्र्यसन हो र स्वास्थ्यका लागि हानिकारक छ भन्ने चेतना थिएन । यो हाम्रो हजुरबा, बा पुस्ताको कुरा हो ।

तामाङ गाउँलगायत केही पिउने परम्पराका गाउँहरुमा जाँडरक्सीको चलन थियो । चाडपर्वमा हल्का चहलपहल देखिन्थ्यो । अघिपछि ती पिउनेहरुसँग पनि जाँडरक्सी पउल हुन्थेन । मात्तिएर हिँड्नेहरु भेटिँदैनथे ।

यसै त घूस खानु पनि दुर्व्यसन हो । घूसको लत लागेका कर्मचारीहरु घूस नलिई निकटतम आफन्तको पनि काम गरिदिन सक्दैनन् । कर्मचारीहरुमा व्याप्त भानुभक्तकालीन भोलि–भोलि र उत्तरोत्तर झाङ्गििँदै आएको घूस, कमिसन, उपहार लिने–दिने चलन सबै दुव्र्यसन नै हुन् । जस्तै– जुवा एक पुरातन दुर्व्यसन हो ।

गाउँबस्तीमा जुवाडेहरु पनि हुन्थे । बिहान घोडा चढेर जुवा खेल्न डाँडागाउँतिर लागेका बाबुसाहेब खालमा घरखेत हारेर बेलुका धुरुधुरु लुकाउँदै लुरुलुरु खुट्टाले गाउँ फर्कन्थे । यस्तो पनि हुन्थ्यो । तर पनि दशैँ–तिहारमा सरकारले कट्टुवाल कराउन लगाएरै जुवा फुक्का गर्थ्यो। मानिसहरु खुल्लंखुल्ला जुवा खेल्थे । अहिले कट्टुवाल नकराएरै पनि मुलुकका ठूला–ठूला होटलमा दिनरात जुवा चल्छ।

झन्डै चार हजार वर्षअघि संहिताकरण गरिएको वेदमा जुवा खेल्नुलाई दुर्व्यसन भनिएको छ र नखेल्न चेतावनी दिइएको छ। महाभारतमा धर्मराज युधिष्ठिरले जुवा खेलेर महायुद्ध सजाएका छन्। समाजमा व्यसन दुर्व्यसन एक किसिमले परम्परागत नै हुन्। उहिले पनि थिए। अहिले पनि छन् । वस्तु र प्रक्रिया बदलिएका छन्। कुरा कति मात्र हो भने, उहिले–उहिले दुव्र्यसन त थिए तर दुव्र्यसनको पहिचान, चेतना अहिले जति छ त्यति थिएन । व्यसन दुर्व्यसनको चर्चा चलनमा आएको त धेरै पछि हो ।

हामीलाई आजसम्मको हाम्रै इतिहासले पनि के सिकाएको छ भने, मादक पदार्थ प्रयोग गर्नु मात्र व्यसन होइन । कुनै पनि वस्तु सेवनलगायत निश्चित सोच, विचार र व्यवहारको बानी पर्नु पनि व्यसन हो । व्यसन असल, खराब दुवै हुन सक्छन् । कुन असल, कुन खराब ? यसको निर्णय तत्कालीन समाजको सोचसमझ, परिणाम र प्रतिक्रियामा निर्भर रहिआएको पाइन्छ ।

हामी पढाकु विद्वान् व्यक्तित्वलाई विद्याव्यसनी भन्छौँ । पढ्नु–लेख्नु, निरन्तर विद्या आर्जन गर्नु नै जसको व्यसन छ त्यसलाई विद्याव्यसनी भनिन्छ । लेखनव्यसनी, उद्योगव्यसनी, व्यापारव्यसनी, राजनीतिव्यसनी आदिजस्ता विशेषणहरु चलनचल्तीमा रहनुपर्ने भएर पनि अद्यावधि हाम्रा चलनचल्तीमा छैनन् । अन्याय, अत्याचार, भ्रष्टाचार, तस्करी, चोरी, डकैती, ठगी, माफियागिरी सबै व्यसन हुन् । घूस, कोसेली पनि व्यसन हो । जन्मजात नभएर पनि लागेपछि छुटाउन गाह्रो पर्ने बानी सबै व्यसन हो । चोरीको बानी परेको व्यक्ति अवसर पाएर कुनै मुलुकको मन्त्री वा प्रधानमन्त्री वा राजा नै भयो भने पनि चोर्ने मौका पर्दा मन थाम्न सक्दैन । इतिहासमा यस्ता उदाहरणहरु प्रशस्त भेटिएका छन् । हाम्रा पूर्वजहरुले भन्थे, ‘श्वा यदि क्रियते राजा स किं नाश्नात्युपानहम् ? अर्थात् यदि कुकुरलाई राजा बनाइयो भने त्यसले जुत्ता भेट्टाउँदा खाँदैन भन्ने ठेगान के छ ?’

भन्ने नै हो भने बौद्धिक चोरी पनि व्यसन हो । यो व्यसन लागेपछि मानिस मौलिक रचना सिर्जनामा डुब्न सक्दैन । बसेर फुर्सदमा अर्काको कुरा काट्नु पनि व्यसन हो । कुरा काट्नुलाई संस्कृत भाषामा ‘असूया’ भनिन्छ । असूयाव्यसनीले जतिसुकै असल मान्छेको पनि खराब सम्भावना खोजी–खोजी कुरा काट्छ । यसै भएर असूयालाई वैदिक सनातनीहरुले अपराधसरह मानेका छन् । अनसूया अर्थात् कसैको कुरा नकाट्ने व्यक्तित्वलाई तपस्वीमा गनेका छन् । पुण्यकर्मी मानेका छन् । पुराणमा र रामायणमा पनि दृष्टान्तका लागि अत्रि ऋषिकी सहधर्मिणी अनसूयाको चर्चा गरिएको पाइन्छ । अनसूया अर्थात् कसैको कुरा नकाट्ने महिला । गीतामा वासुदेव कृष्णले पनि अर्जुनसँगको संवादको अन्त्यमा भनेका छन्– जथाभावी कुराकटुवालाई हाम्रो यो संवाद नसुनाउनू । ‘नचाशुश्रूषवे वाच्यं न च मां योभ्यशूयति । अर्थात् जो यस सद्ज्ञानलाई महत्व दिएर जीवनमा उतार्दैन र जो मलाई अशूया गर्छ, अर्थात् गलत किसिमले आरोपित गर्छ त्यसलाई हाम्रो यो संवाद नसुनाउनू ।’ (महान् यशस्वी शब्दशास्त्री अमरसिंहले आफ्नो प्रामाणिक शब्दकोश अमरकोशमा ‘अशूया’ शब्दको अर्थ ‘दोषारोपो गुणेष्वपि’ अर्थात् असल गुणमा पनि खराब हो भन्दै दोषारोपण गर्नु हो भनेका छन्) । सामान्य नीतिले भन्छ, ‘शत्रोरपि गुणा वाच्या दोेषा वाच्या गुरोरपि अर्थात् शत्रुकै पनि सद्गुण छ भने त्यसको बखान गर्नू, खराब बानीबेहोरा छ भने गुरुलाई पनि नछोड्नू ।’ यसको तात्पर्य दोषको पर्दाफास गर्न नछोड्नू, गुणमाथि जथाभावी दोषारोपणचाहिँ नगर्नू भन्ने नै होइन र ?

यसै त हाम्रो समाजमा कति धनीमानीहरु गरिब, निर्धा, निमुखालाई शोषण गर्नु, सताउनुमा रस लिन्छन्, लिँदै आएका छन् । कति सासूहरु घरपरिवारमा बुहारीलाई बढीभन्दा बढी काममा दलाउनु र माइतीबाट उपहार, कोसेली, तिलक आदिका रुपमा शोषण गर्नुलाई चलनचल्तीको सामान्य व्यवहार ठान्छन् । यद्यपि सबै किसिमका शोषणहरु दुर्व्यसन नै हुन् । कुलत नै हुन् । लत लागिसकेपछि हम्मेसी छुट्दैन । सबैभन्दा दुर्व्यसनी त हाम्रो समाजमा परम्परागत सोचसमझका पतिहरु पनि हुन् । पत्नीलाई सताउनु हाम्रो समाजमा रुढिगत पृष्ठभूमिसहितको परम्परागत दुर्व्यसन हो । जातीय विभेद र हेलाहोचोको व्यवहार पनि सामाजिक दुव्र्यसन नै हुन् । कति दुव्र्यसनका धार्मिक, सांस्कृतिक पृष्ठभूमि छन्, कतिका छैनन् ।

व्यसन आदत हो, लत हो । दुर्व्यसनलाई कुलत पनि भनिन्छ । व्यसनले चलनको रुप लिएपछि त्यसले धमिराको काम गर्छ, गरिआएको छ । हाम्रो मुलुक प्रगतिमा पछि पर्नुमा आलोचित, अनालोचित विभिन्न धमिराहरुको उल्लेखनीय भूमिका रहिआएको छ ।

मानवजीवनमा व्यसनको दायरा विस्तृत छ । व्यसनले वैयक्तिक मात्र नरहेर सामाजिक, सांस्कृतिक र धार्मिम रुप लिएका इतिहासहरु छन् । हाम्रा घूस कमिसनव्यसनी रानजेताहरुले ठाडो भ्रष्टाचारलाई नीतिगत आवरण दिएर राष्ट्र र जनताका सम्पत्तिको भयङ्कर अपचलन गरेका छन् । जस्तै– आदियोगी शिवलाई समेत व्यसनीका रुपमा उभ्याएर जोगीहरुले गाँजालाई सांस्कृतिक र समाजस्वीकृत व्यसनका रुपमा निर्बाधता दिएका छन् । यी यस्ता सन्दर्भमा हुनुपर्ने व्यापक अनुसन्धान हुन जहिले पनि बाँकी नै रहन्छ । किन ?

लाग्छ, समाजको आर्थिक, राजनीतिक, सांस्कृतिक सबै क्षेत्रमा क्रान्तिकारी ढङ्गको आमूल परिवर्तन आउन परम्परागत व्यवस्थामै आमूल परिवर्तन आवश्यक छ । व्यवस्था पुरानै कायम रहेर अवस्थामा नयाँ–नयाँ परिवर्तन आउँछ भन्नु पनि मृगमरीचिकालाई जलाधार क्षेत्र भनेर पुनः परिभाषित गर्नुजस्तै हो । होइन र ?