देउवा निवासमा दलको लर्को, सत्ता पक्षलाई झस्को

1.5k
Shares

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सत्ता पक्षसहित विपक्षी दलका शीर्ष नेताको लर्को लाग्ने गरेको छ ।

संसद्को सबैभन्दा ठूलो दलका सभापति एवं पूर्व प्रधानमन्त्री देउवा निवासमा सत्ता पक्षीय नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सहित सत्ता बाहिर रहेका सबै दलका शीर्ष नेताहरूबीचको जमघटले सत्ता गठबन्धनमा तरंग ल्याएको हो ।

बुधबार सभापति देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित मधेसवादी दललाई बोलाएर पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्नुभएको छ। देउवाले विशेषगरी मधेस प्रदेश सरकारलगायतका विषयमा छलफल गर्न नेताहरूलाई आफ्नो निवासमा बोलाउनुभएको थियो।

देउवा निवासको बैठकमा माधव नेपालका साथै एकीकृत समाजवादीका नेता मेटमणि चौधरी, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारी सहभागी थिए। बैठकमा मधेस सरकारसहित देशको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले बताउनुभयो।

सत्ता पक्षका नेताहरू नै प्रतिपक्षी दलका शीर्ष नेताको बैठकमा सहभागी भएपछि सत्ता गठबन्धनलाई टाउको दुखाई भएको छ। संसद्को गतिरोध हटाउने निहुँमा केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत देउवा निवास पुगेर राजनीतिक छलफल गर्नुभएको थियो।

मधेसमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)ले ३० वैशाखमा मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएका थिए। जसपा नेपालबाट मुख्यमन्त्री बनेका यादवले अहिले विश्वासको मत लिनुभएको छैन। संघको सरकारबाट जसपा नेपाल बाहिरिएको छ भने मधेसमा अल्पमतमा परेको छ। मधेसमा २३ प्रदेश सांसदसहित एमाले पहिलो दल बनेको छ।

कांग्रेसका २२, जसपा नेपालका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादीका ९, माओवादीका ८ र एकीकृत समाजवादीका ७ प्रदेश सांसद छन्। १ सय ७ सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्दछ।