तराईमा तीन दिनसम्म तातो हावा

मौसम विज्ञान विभागद्वारा सतर्कता अपनाउन आग्रह

1.7k
Shares

काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागले हिजो बुधबारदेखि तीन दिनसम्म तराईका जिल्लामा तातो हावा चल्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।विभागले बुधबार मध्याह्न विशेष बुलेटिन नै प्रकाशित गरेर तराईका १८ जिल्लामा अत्यधिक गर्मी हुनुका साथै तातो हावा चल्ने भएकाले तराईमा बसोबास गर्ने नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ ।

तराईका जिल्लामा तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी भएको र चर्को घामले हावासमेत तातो चलेकाले जनजीवन अस्तव्यस्त बन्दै गएको छ । तातो हावासहित लु चल्ने सम्भावना भएपछि तराईका अधिकांश निजी तथा सरकारी स्कुलहरू धमाधम बन्द गर्न थालिएको छ। स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक दिउँसोको समयमा हिँडडुल नगर्न जनतालाई अपिल जारी गरेको छ।

विभागले तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने लक्षण देखिने भएकाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी एक्सपोज नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन विभागले आग्रह गरेको छ।

महाशाखाले आगामी केही दिन देशभरको तापक्रमको अवस्थाको विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक तयारी तथा सतर्कता अपनाउनसमेत आग्रह गरेको छ।

अन्य क्षेत्रको मौसमी अवस्था

विभागले आज बिहीबार कोशी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने बताएको छ।

कोशी प्रदेशका थोरै स्थान र वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पनि विभागले उल्लेख गरेको छ। कोशी, वागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले उल्लेख गरेको छ।

कोशी, मधेस, वागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ।

विभागका अनुसार शुक्रबार कोशी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ।

कोशी, वागमती र गण्डकी प्रदेशको थोरै स्थान मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पनि विभागले उल्लेख गरेको छ। कोशी, वागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ रहेको छ ।