कोशी सरकारविरुद्धको रिट न्यायाधीशद्वय शर्मा र सुवेदीको इजलासमा

238
Shares

काठमाडौं ।

कोशी प्रदेश सरकार गठनबारे कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको संयुक्त इजलासमा उक्त रिटको सुनुवाइ हुन लागेको हो।

कार्कीले मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको नियुक्तिमा प्रश्न उठाउँदै सर्वोच्चमा रिट हालेका हुन्। २६ वैशाखमा केदार कार्कीलाई स्वत पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले २७ वैशाखमा हिक्मतकुमार कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए।

केदार कार्की पनि सोही उपधारा अनुसार २७ असोजमा नियुक्त भएका थिए। कार्कीले उक्त धारा सरकार बनाउने अन्तिम उपधारा भएको र आफूले यसअघि नै विश्वासको मत लिएकाले हटाउने निर्णय असंवैधानिक भएको जिकिर गरेका छन्।

उनले हिक्मत कार्कीलाई पदमुक्त गरी आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् । यसअघि जेठ ९ गते सर्वोच्च अदालतका न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको इजलासले मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदाको कागजात झिकाउन आदेश दिएका थिए।

नेकपा (एमाले) का प्रदेश सांसद कार्कीले वैशाख ३१ गते विश्वासको मत प्राप्त गरेका थिए।