फिल्म क्षेत्रलाई उत्साह दिन सकेन बजेटले

अघिल्ला वर्षका घोषणालाई नै निरन्तरता

56
Shares

काठमाडौं ।

फिल्म र कला क्षेत्रका लागि आर्थिक वर्ष २०८१/८२ को बजेटले उत्साह दिन सकेन। आर्थिक वर्ष २०८१/ ८२ का निम्ति १८ खर्ब ६० अर्ब ३० करोड रुपिया“कोे बजेट प्रस्तुत गरेको सरकारले विभिन्न कार्यक्रम कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सात अर्ब ३५ करोड बजेट विनियोजन गरेको घोषणा गरे पनि कला र फिल्म क्षेत्रका लागि भने खास सम्बोधन गरेन।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय सरकारको बजेट प्रस्तुत गर्दै फिल्म क्षेत्रलाई अघिल्लो वर्षका सरकारले जस्तै सामान्य सम्बोधन मात्र गरे। जसका कारण फिल्म क्षेत्रलाई उद्योगको रूपमा विकास गर्दै बजेटमा प्राथमिकतामा राख्नुपर्ने आवाज उठाउने फिल्मकर्मीलाई यस वर्षको बजेटले पनि निराश बनाएको छ।

अर्थमन्त्री पुनले बजेट प्रस्तुत गर्दैै अघिल्लो वर्षजस्तै बनेपामा फिल्म छायांकनका लागि स्टुडियो निर्माण कार्य शुरू गरिने र दोलखा चलचित्र नगरीलाई सार्वजनिक, निजी, साझेदारीमा निर्माण कार्य अगाडि बढाइने घोषणा गरे।

बनेपामा स्टुडियो निर्माण गर्न केही अघिमात्रै जिल्ला वन कार्यालयले चलचत्रि विकास बोर्डलाई जग्गाको स्वामित्व प्रदान गरेको थियो। त्यसैगरी दोलखामा फिल्म सिटी निर्माण गर्न गतमहिना सम्पन्न लगानी सम्मेलनमा यो परियोजना शो–केसमा राखिएको थियो। जसमा मौरिसस र चनियाँ लगानीकर्ताले चासो देखाएका थिए।

त्यस्तै, बजेटले यस वर्ष पनि संगीत र प्रतिलिपि अधिकारको विषयमा पनि सम्बोधन गरेको छ। ‘भाषा साहित्य, दर्शन, संस्कृति कला, संगीत नाट्यजस्ता अमूर्त सांस्कृतिक क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ। प्रतिलिपि अधिकारको संरक्षण र नियमन गरिनेछ,’ दुई घण्टा लामो बजेट भाषणमा अर्थमन्त्री पुनले भने।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले बजेटबाट विदेशी फिल्मलाई न्यूनीकरण गर्नेखालका कार्यक्रमको अपेक्षा गरे पनि सोअनुरुप सम्बोधन नभएको बताए।

‘नेपाली चलचित्र उद्योगलाई प्राथमिकतामा राखेर विदेशी चलचित्रलाई न्यूनीकरण गर्नुपर्छ भन्ने हाम्रो माग कतै पनि सम्बोधन भएन, स्टुडियो निर्माण गर्ने कुरा सकारात्मक कुरा आयो। बाँकी के छन् समग्रमा हेर्नुपर्छ,’ निरौलाले भने। नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले यस पटक पनि पुरानै विषयलाई निरन्तरता दिएका कारण उत्साहजनक र अपेक्षाअनुरुपको बजेट नभएको बताए।

‘पहिले आइरहेकै स्टुडियो निर्माण, फिल्म सिटीको कुरालाई निरन्तरता दिइएको छ। बजेट आशा गरेअनुसारको आएन। प्रदेशगत सम्भाव्यताका विषय अध्ययन गर्ने, स्टोरी बैंकका कुराका लागि पछि मन्त्रालयले नै बजेट छुट्याउने होला। बजेट कायापलट हुनेखालको स्वागतयोग्य पनि छैन र छि भनेर केही नै आएन भन्नेखालको पनि छैन,’ खड्काको भनाइ छ।

सरकारले तनहुँको चुँदी रम्घामा सबै नेपाली भाषाभाषीका मूर्धन्य स्रष्टाको प्रतिमा र सप्तधामसहितको भानु साहित्य उद्यान स्थापना गर्ने भएको छ। त्यस्तै, स्थानीय सीप, साहित्य, सस्कृतिको सम्वद्र्धन र प्रवर्धन गर्न वडास्तरमा मौलिक कार्यक्र सञ्चालन गरिने पनि घोषणा गरिएको छ।