न्युरोडमा मानव साङले जुलुस

महानगरको निर्णयविरुद्ध सडकमा उत्रिए दुई वडाअध्यक्ष



काठमाडौं ।

काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रका सडक साँघुरो बनाएर फुटपाथ निर्माण गर्न लागेको भन्दै स्थानीयले विरोध गरेका छन्। शुक्रबारबाट लगातार विरोधमा उत्रिएका स्थानीयले सोमबार न्युरोडदेखि इन्द्रचोकसम्म दायाँबायाँ उभिएर फुटपाथको चौडाइको आकारको मानव साङलो बनाएर विरोध प्रदर्शन गरेका थिए ।

मेयर बालेन्द्र साहले डिभिजन सडक कार्यालयलाई कुनै जानकारी नै नदिई बाटो साँघुरो बनाउन थालेपछि न्युरोडका स्थानीय सडकमा उत्रिएका हुन् । यसअघि कामपाले सडक दायाँबायाँको पार्किङ हटाएको थियो । पार्किङ हटाएपछि महानगरले पैदल यात्रुलाई सहज बनाउन फुटपाथको चौडाइ बढाउने कार्य शुरू गरेको जनाएको छ।

सो क्षेत्रका वडा अध्यक्षहरूको धारणा नसुनी एकोहोरो रूपमा सडक साँघुरो पारेपछि कामपा– २२ का वडाअध्यक्ष चिनीकाजी महर्जन, २३ का वडाअध्यक्ष मचाराजा महर्जनसहित वडावासीले आन्दोलन जारी राखेका छन् । सोमबार सडकमा उत्रिएका स्थानीयले ‘नयाँ सडक बचाऔं’, ‘न्युरोड साँघुरो गर्न पाइँदैन’ जस्ता नारा लेखिएका तुल बोकेर विरोध प्रदर्शन गरेका थिए ।

वडाअध्यक्ष चिनीकाजी महर्जनले कामपाले निर्णय फिर्ता नलिएसम्म सडक बचाउनको लागि आन्दोलन जारी राख्ने जानकारी दिँदै भन्नुभयो–‘न्युरोड क्षेत्रलाई कुरूप बनाउने योजना अघि बढाएपछि विरोधमा उत्रिएका हौं, निर्णय फिर्ता नभएसम्म विरोधका कार्यक्रम जारी राख्नेछांै ।’ उहाँले बाटो घटाउन तयार गरेको क्षेत्रमा डण्डी राखेर विरोध जनाउने बताउनुभयो ।

स्थानीयले अमृत मानन्धरले सडकलाई साँघुरो पारेर गर्न लागेको विकास न्युरोडवासीलाई आवश्यक नभएको तर्क राख्दै भन्नुभयो– ‘वडासँग सहकार्य नगरी एकलौटी रूपमा गरेको निर्णय मान्य हुँदैन । यो कार्य तत्काल रोक्नुपर्छ ।’ उहाँले सडक बिस्तार र सौन्दर्यीकरणको नाममा न्युरोडको अस्तित्व सखाप पार्न खोजेको आरोप पनि लगाउनुभयो ।

कामपाले चालु आर्थिक वर्षको बजेटबाट न्युरोडको फुटपाथ बढाउन बजेट छुट्याएको थियो । सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गत वर्ष असोज २१ गते स्वीकृत भएसँगै मंसिरमा बोलपत्र आह्वान भएको थियो । कामपाको मूल्यांकन समितिले आरोग्य साइटेक जेभीलाई काम गर्न कार्यादेश दिएको थियो ।

कामपासँगको सम्झौतालगत्तै शुक्रबार फिल्डमा खटिएको निर्माण कम्पनीलाई डिभिजन सडक कार्यालय काठमाडौंले काम गर्न रोक लगाएको थियो । सडक काट्नै लाग्दा कार्यालयले केही मेसिन र औजार जफत गरेको थियो । महानगरले कामपाको वडानम्बर २२, २३ र २४ मा पर्ने न्युरोड, धर्मपथ, शुक्रपथ, खिचापोखरीसहितका सडक खण्डका पैदल मार्ग फराकिलो गर्न शुरू गरेको थियो ।

स्थानीय अभियन्ता गणपतिलाल श्रेष्ठले पुर्खाले जनघनत्व कम हुँदा व्यवस्थित रूपमा बनाएको सडक कामपाले भत्काउन खोजेको आरोप लगाउँदै भन्नुभयो– ‘यति धेरै चाप हँुदा पनि पुर्खाले दूरदर्शी सडक बनाएका थिए । अहिले महानगरले आफ्नो सोच सार्वजनिक नै नगरी एकाएक बाटो साँघुरो बनाउनु गलत नियत हो ।’ उहाँले सर्वेक्षण नगरी पार्किङ हटाउनु र अहिले सडक साँघुरो बनाउनुले देशको मुटुको रूपमा रहेको व्यावसायिक क्षेत्र नै विस्थापित वा कतै स्थानान्तरण गर्न खोजेको आशंका उब्जिएको बताउनुभयो ।

कामपा–२३ का वडाअध्यक्ष मचाराजा महर्जनले मेयरको लहडले भूगोललाई असर पार्न नहुने जिकिर गर्दै भन्नुभयो– ‘कुनै पनि काम गर्नुअघि छलफल गर्नुपर्छ, योजना बनाउनुपर्छ, स्थानीयवासीको सहमति लिएर मात्र काम गर्नु उचित हुन्छ । हचुवाको भरमा स्थानीयलाई गम्भीर असर पर्नेगरी बाटो साँघुरो गर्न लाग्नुभएको छ, हामी यसको विरोध गर्छौं ।’

कामपा–२४ का वडाअध्यक्ष विनोद राजभण्डारीले बाटो घटाएर फुटपाथ विस्तार गर्ने बारेमा सार्वजनिक सुनुवाइए गर्ने योजना बनाएको जानकारी दिँदै भन्नुभयो– ‘विशाल बजारका व्यापारीले फुटपाथ सानो भएर व्यापारमा समस्या भयो भनिरहेका छन् । स्थानीयले सडक घटाउन पाइँदैन भन्दैछन् । यस विषयमा यथार्थ जानकारी लिन सार्वजनिक सुनुवाई गर्ने तयारी गरेका छौं ।’

कामपाका प्रवक्ता नवीन मानन्धरले समस्या समाधान गर्ने विषयमा छलफल भइरहेको जानकारी दिँदै भन्नुभयो– ‘उपमेयर बाहिर हुनुहुन्छ, उहाँ आएपछि छलफल गरी निर्णय गर्नेछौं ।’

न्युरोड क्षेत्रमा हाल ११ मिटरको सडक र दुवैतर्फ फुटपाथ छ । महानगरले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत् सडकलाई ७ मिटरमा झारेर फुटपाथलाई ४ देखि साढे ४ मिटरसम्म बनाउने योजना अघि बढाएको थियो । सोही आधारमा गएको शुक्रबारबाट कामपाले काम थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्