पहिलो वार्मअप खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित



काठमाडौं ।

आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो वार्मअप खेलमा क्यानडासँग पराजित भएको छ। सोमबार राति अमेरिकाको ग्राण्ड पेरी स्टेडियम डालासमा सम्पन्न खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको हो।

क्यानडाले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको नेपाली टोली ३ बल अगावै १ सय २० रन बनाउँदा अलआउट भयो। नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाए। अनिल साहले २४ रन बनाउँदा आसिफ शेखले २२ रन बनाए।

कुशल भुर्तेलले १० रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। नेपाललाई सस्तैमा रोक्न डिलोन हेलिगरले ४ विकेट लिए। जेरेमी गोर्डन र साद विन जफरले समान २ विकेट लिए। कलिम साना र पारगत सिंकले समान १ विकेट आफ्नो नाममा गरे। त्यसअघि टस हारेर पिहले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो।

क्यानडाका लागि निकोलस कीर्तनले सर्वाधिक ५२ रनको योगदान दिए। रविन्द्रपाल सिंह ४१, नरभित डालिवालले ३२ रन जोडे। नेपालका लागि अविनास बोहोराले २ विकेट लिए।

करण केसी, सोमपाल कामी, गुल्सन झा, ललित राजवंशी र सागर ढकालले समान एक विकेट लिए। नेपालले दोस्रो वार्मअप खेलमा अमेरिकासँग बिहिबार खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्