गणतन्त्रमा मौलाएको नातावाद, कृपावाद र चाकडीवाद



देश दशकौँ लामो संघर्ष, बलिदान र क्रान्तिपछि लोकतन्त्र गणतन्त्र हुँदै समाजवाद उन्मुख भइरहँदासमेत विकासको बाधकका रुपमा रहेको नातावाद, कृपावाद, चकडीवाद र भेगीयतावाद भने अझै अन्त्य हुने सकेको छैन। गणतन्त्रपछि त झन् देशमा पञ्चायतकालभन्दा पनि डुङडुङ्ती गन्हाउने गरी र ह्वाङ्गै–छ्याङ्गै देखिने गरी नातवाद, भनसुनवाद, र ‘राम्रो मान्छे’ भन्दा पनि ‘हाम्रो मान्छे’ चुनिने चलन चुलिएको छ।

स्वच्छ र स्वस्थ प्रतिस्पर्धाबाट कुनै पनि काम हुन सकिरहेका छैनन्। सरकारी अड्डाहरु यो महारोगले ग्रसित छन्। अस्पतालमा औषधि उपचारदेखि, रोजगारीको अवस्थासम्म, विद्यालयदेखि मसानघाटसम्म नातावाद, भनसुनवाद, पद र पावरवालाहरुको जंगबहादुर शैलीमा हातै कानुन, मुखै कानुनजस्तो बनेको छ।

दलका अन्धभक्त, झोले र आसेपासे, दलाली र ठेकेदारी गरेर पेट पाल्न पल्किएकाहरु आलोनात्मक चेतना गुमाएर पशुसमान भएका छन् । बौद्धिक, तार्किक र अध्ययनशील अनुसन्धाताहरुको देशमा कुनै कदर छैन। सरकारका मन्त्री, पार्टीका नेता, सरकारी उच्च ओहदामा रहेका अधिकांश कर्मचारीहरुमा यो रोग वर्षौँदेखि गडेर बसेको छ ।

साँझ अवेरसम्म र बिहान सखारै मालिकहरुका पाउ मुसार्न हरेक राजनीतिक दल र सत्ताधारी दलका आसेपासे ‘धुपौरे’हरु कोठा–चोटामा पुग्ने गरेका छन् । उनीहरु नै ‘देश बिग्रियो’ भनेर ठूला आदर्शका भाषण छाँट्छन् । उनीहरु नै समाजवादका ठूला नारा लगाएर अरुलाई सिकायत गर्छन् । र, उल्टै अरुलाई ‘बिग्रियौ तिमीहरु’ पो भनिरहेका छन् !

यो प्रवृत्ति रोक्नका लागि हरेक पार्टीका शीर्षस्थ नेतृत्व, उच्च ओहदामा रहेका सरकारी कर्मचारी, मन्त्रीहरु, पालिकाका प्रमुखहरुले छातीमा हात राखेर आफैँसँग दृढ संकल्प गर्नै पर्छ । आफूभित्रै असल आचरण अनुशरण गर्ने इच्छाशक्ति हुनुपर्छ, आफैँलाई स्वनियमन गर्न जरुरी छ । काम बिगार्दा पनि ‘हजुर महान्’ र काम सपार्दा पनि ‘हजुर भगवान्, मेरो पिता, मेरो परमात्मा, मेरो विधाता’ भन्ने धनुष्टङ्कार शैलीलाई चिनेर आफ्नो छेउमै ढिम्किन नदिने र त्यस्ता व्यक्ति प्रवेशका लागि सधैँका लागि गेट बन्द गर्ने हो भने उनीहरुको मनोबल बिस्तारै गिर्दै जान्छ । त्यसपछि नेताको भजनमण्डलीबाट ऊ बिदा हुन बाध्य हुन्छ ।

आफ्नो नातागोताका मन्छेलाई जागिर लगाउने, पद पँजनी गर्ने, सरुवा–बढुवा मिलाउने, पालो तथा मर्यादाक्रम मिचेर टेबलमुनिबाट आफ्नो फाइल अघि बढाउन खोज्नेहरुलाई सबैले निरुत्साहित गर्ने हो भने भनसुन प्रथा, नतावाद, भेगीयतावाद आफैँ हट्दै जाने थियो । तर यो प्रथा जुन जोगी आए पनि कान चिरेका भनेझैँ वर्तमान प्रचण्ड नेतृत्वको सरकारमा त झन् उग्र बनेर प्रदर्शन भएको छ ।

भनसुनको आधारमा, आफ्नो दलको र त्यसमा पनि आफ्नै गुटको मान्छे भएकै आधारमा एउटै अक्षम मानिसलाई पटक–पटक राज्यको उही पदमा दोहोर्‍याई, तेहेर्‍याई नियुक्ति गर्दा ऊसँगैको अर्को सक्षम प्रतिस्पर्धीको मनोबल कस्तो हुँदो हो ? यसरी आफूखुशी टीका लगाएर बाँडेको ‘टिके’ पद र ‘टिके’ व्यक्तिले गर्ने काम कसरी सर्वस्वीकार्य होला ?

यस्ता व्यक्तिले गर्ने काम र निकाल्ने परिणाम आमनागरिक, आमजनताप्रति उत्तरदायीभन्दा पनि उही मालिकप्रति मात्र उत्तरदायी र बफादार हुन्छ ।

अतः यदि लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र वा समाजवाद जे नामले पुकारे पनि नेतृत्व तहमा वा उच्च ओहदामा बसेको व्यक्तिको आचरण सुध्रिएन भने, आलोचनात्मकभन्दा पनि अन्धभक्तहरुलाई काखी च्यापियो भने दुःख पाउने जनताले नै हो, देशले नै हो र राज्य व्यवस्था प्रणालीमाथि नै प्रश्नचिन्ह खडा हुने हो । यो प्रथा रोक्न सबै राजनीतिक दलका समर्थक, शुभेच्छुक र आमजनता नै सचेततापूर्वक लाग्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्