अराजक गतिविधि बन्द गर

126
Shares

पछिल्लो संसदीय गतिविधिले नेपाललाई कहाँ पुर्‍याउला भन्ने कसैले अन्दाज गर्न सकेका छैनन् । सत्ता र प्रतिपक्षको गतिविधिले नेपालको संसदीय इतिहासमा कालो दिन नआउला भन्न सकिँदैन। अहिले चौतर्फीरुपमा संसदीय व्यवस्थामाथि आक्रमण भइरहेको बेला दलहरु नाङ्गै भएर आफ्नो प्रस्तुति दिन अभ्यस्त देखिएका छन्।

कुनै दल मुलुकको हितका लागि तल्लीन छैनन् भन्ने उनीहरुको गतिविधिले देखाएको छ। अहिले सत्तापक्ष र प्रतिपक्षको हठ हेर्ने हो भने मुलुक संकटापन्न अवस्थामा पुग्ने त होइन भन्ने आशंका उत्पन्न भएको छ।

वर्तमान सरकार गठनमा विमति जनाउँदै आएका छिमेकी मुलुकहरु अहिलेको तरल राजनीतिक अवस्थाको फाइदा उठाएर आफ्नो अनुकूलको सरकार गठनमा तल्लीन रहेको विश्लेषण भइरहेको बेला असंसदीय गतिविधिले उनीहरुको भित्री योजनामा यस्तो गतिविधि सहायकसिद्ध नहोला भन्न सकिँदैन। आफ्नै बलबुताले राजनीति गर्ने परम्पराको थालनी नभएसम्म यस्ता गतिविधिहरु नहोलान् भन्न पनि सकिँदैन। त्यसैले राष्ट्रिय, अन्तर्राष्ट्रिय अवस्थाको विश्लेषण गरेर सबै दलले आफ्ना गतिविधि सञ्चालन गर्नुपर्ने देखिन्छ।

अहिले नेपालको संसद्मा जुन गतिविधि भइरहेको छ, यसलाई छिमेकी मुलुकहरुले नजिकबाट हेरिरहेका छन्। उनीहरु मौकाको पर्खाइमा रहेका छन्। त्यो गतिविधि बुझेका दलहरुले गरिरहेको गतिविधिले कसलाई फाइदा पुर्‍याइरहेको छ र हामीले कस्तो राजनीतिक व्यवस्था स्थापना गर्न खोजेका छौँ ? त्यसको विश्लेषण कहीँ कतैबाट भएको पाइँदैन। संघीय व्यवस्थाविरुद्ध जनआवाज तीव्ररुपमा उठिरहेको बेला दलहरुबाट भएका गतिविधिले अहिलेको व्यवस्थामाथि प्रहार नहोला भन्न सकिन्न । तर पनि दलका नेताका गतिविधि गैरसंसदीय र गैरसंघीयका साथै व्यवस्थाविरुद्ध रहेको देखिन्छ ।

पूर्वराजावादीहरु संगठित हुने कोशिश गरिरहेका छन् भने नेपालमा अस्थिरता चाहने शक्ति नेपाली नागरिकलाई नै प्रयोग गरेर व्यवस्थामाथि प्रहार गर्न अहिले सक्रियरुपमा लागेको देखिन्छ । त्यसैले यस्ता गतिविधिबाट नेपाललाई बचाउने हो भने दलहरु सुध्रनुको विकल्प छैन। होइन भने नेपालमा अस्थिरताको बीउ रोपिने र यसले दीर्घकालसम्म नेपाललाई अस्थिर बनाउनेमा द्विविधा देखिँदैन।

आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न मुलुकलाई नै बन्धक बनाउने काम सत्तापक्ष होस् वा प्रतिपक्ष कसैले पनि गर्नुहुँदैन । अस्थिरताले एउटा समूहलाई मात्र हानि गर्ने होइन कि यसले समग्र मुलुकलाई नै हानि पुर्‍याउने हुन्छ। त्यसैले सबैले बेलैमा सोचेर आफ्नो अराजक गतिविधि बन्द गर्नुको विकल्प छैन । जसले नेपाललाई हानि गर्ने काम गर्छ, त्यस्तालाई बेलैमा चिनेर जनताले मतको माध्यमबाट सजांय दिनुपर्ने देखिन्छ ।