आईपीएलः पहिलो क्वालिफायरमा आज कोलकाता र हैदरावाद भिड्दै



काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज पहिलो क्वालिफायर खेल हुँदै छ। पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच खेल हुँदै छ।

अहमदावादमा हुने यो खेल नेपाली समयअनुसार राति ७: ४५ बजेदेखि सुरु हुने छ। कोलकाता अङ्क तालिकामा शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्न लागेको हो। कोलकाता समूह चरणमा १३ खेलमा ९ जित र ३ हार बेहोर्दै २० अङ्कसहित शीर्ष स्थानमा रहन सफल भयो । त्यस्तै हैदरावादले १४ खेलमा ८ जित र ५ खेलमा हार बेहोरेको थियो भने एक खेल रद्द भएको थियो। हैदरावाद १७ अङ्क हासिल गर्दै दोस्रो स्थानमा रहेको छ।

कोलकाता नाइट राइडर्सले अहिलेसम्म २०१२ र २०१४ मा गरि दुई पटक आईपीएलको उपाधि जितेको छ। त्यस्तै कोलकाता २०२१ मा उपविजेता बनेको थियो । योसहित कोलकाता आठौँ पटक प्लेअफमा पुगेको छ। त्यस्तै  हैदरावादले अहिलेसम्म एक पटक २०१६ मा आईपीएलको उपाधि जितेको छ। २०१३ देखि आईपीएल खेलिरहेको हैदरावाद २०१८ मा उपविजेता बनेको थियो भने यो सहित सात पटक प्लेअफमा पुगेको छ।

यस सिजनमा कोलकाताका लागि सुनिल नारनको सबैभन्दा उत्कृष्ट प्रदर्शन रहेको छ। उनले अहिलेसम्म ४६२ रन बनाएका छन् भने १७ विकेट समेत लिएका छन्।  त्यस्तै कोलकाताका लागि वरुण चक्रवर्तिले १९ विकेट लिएका छन् भने हर्षित रानाले १७ विकेट लिएका छन्। हैदरावादका लागि यस सिजनमा ट्राभिस हेडले शानदार शुरुवात दिइरहेका छन्।

उनले यस सिजनमा अहिलेसम्म ५३३ रन बनाएका छन्। त्यस्तै अभिषेक शर्माले पनि यस सिजनमा शानदार ब्याटिङ गर्दै अहिलेसम्म ४६७ रन बनाएका छन्।

त्यसैगरी हैदरावादका लागि टि नटराजनले १७, कप्तान पाट कमिन्सले १५ विकेट लिएका छन्। आजको पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ।

प्रतिक्रिया दिनुहोस्