संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कानुन मन्त्रालयमा कार्यदलको बैठक



काठमाडौं ।

सहकारीको रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ।

संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दलका शीर्ष नेताहरूको गत शनिबारको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुङ्गो लगाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको थियो।

कार्यदलका अन्य सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन्। आजको बैठकमा सबै सदस्य सहभागी छन्। कांग्रेसका तर्फबाट सांसद ज्ञानेन्द्रबहादुर कार्की पनि बैठकमा सहभागी भएका छन् ।

आजको बैठकमा रास्वपा सभापति रवि लामिछानेले आफ्नो नाम समावेश गरेर कार्यादेश बनाउन सन्देश दिएको नेता खनालले जानकारी दिएका छन्। यस अघि पनि पटक पटक कार्यदलको बैठक बसेको भएपनि संसदीय छानबिन समितिको कार्यादेशमा सहमति हुन सकेको छैन।

कार्यादेशमा सत्ता पक्ष र प्रतिपक्षबीच उपप्रधान एवम् गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्ने या नगर्ने भन्ने विषयमा प्रमुख विवाद रहेको छ।

प्रतिक्रिया दिनुहोस्