यस सिजनको आईपीएलमा कीर्तिमानको ओइरो



एजेन्सी ।

इन्डियन प्रिमियर लिग (आईपीएल) विश्वमा सबैभन्दा लोकप्रिय र महँगो फ्रेन्चाइजी टी २० घरेलु लिग हो। यसैले पनि आईपीएलमा विभिन्न देशका उत्कृष्ट क्रिकेटरहरू सहभागिता जनाउन लालायित हुन्छन्। साथै यो नयाँ खेलाडीका लागि समेत प्रदर्शन देखाउनक्रिकेटमा माथि उठ्न धरातल पनि हो।

यसै सिजनको आईपीएल पनि सकिन लागिसकेको छ। १० टोली सहभागि प्रतियोगितामा लिग चरणका सबै ७० खेल समाप्त हुँदासम्म कीर्तिमानको ओइरो पनि लागेको छ। यस सिजनमा २ हजार भन्दा बढी चौका प्रहार भइसक्यो भने छक्का १२ सय भन्दा बढी प्रहार भइसकेको छ।

यस १७ औं संस्करणमा १४ शतक बनेका छन्। जुन आईपीएलको इतिहासमा बढी शतकसंख्या समेत हो। २०२४ को आईपीएलमा पावरप्लेको रन, औसत रन र विकेट पतनको दरमा पनि परिवर्तन भएका छन्। २००८ देखि शुरु भएको आईपीएलले २०२४ सम्म आईपुग्दा झनै लोकप्रियता कमाइरहेको छ।

पावरप्ले

२००८ मा आईपीएल शुरु हुँदा ५९ खेलमा पावरप्लेको औसत ४६ रन थियो। यानि ६ ओभरमा टोलीले ४६ रन मात्रै बनाउन सक्थ्यो । २०२३ सम्म १६ वर्षको अन्तरालमा पनि औसत पावरप्ले ४६ रनकै थियो। तर, यस सिजनमा बलरहरूभन्दा ब्याटरहरू आक्रमक देखिए।

शुरुवाती ६ ओभरमा ५५ रन औसतमा पुगेको छ। यसअघि २०१७, २०१८ र २०२३ सिजनमा औसत पावरप्ले स्कोर ५० भन्दा बढी थियो । तर, ५५ रन औसतमा पुग्न सकेको थिएन।

पावरप्लेमा टी २० को उत्कृष्ट स्कोर पनि बन्यो। जारी सिजनमा सनराइजर्स हैदराबादका ओपनरद्वय ट्राभिस हेड र अभिषेक शर्माले विस्फोटक ब्याटिङ गरिरहेका छन्। उनीहरूकै सहयोगमा हैदराबादले शुरुवाती ६ ओभरमा दुई पटक १ सय रन पार गरेको छ। आईपीएलको इतिहासमा यस्तो पहिलो पटक भएको छ।

सनराइजर्स हैदराबादले लखनउ सुपर जायन्टस् र दिल्ली क्यापिटल्सविरुद्ध १ सय भन्दा बढी रन बटुलेको हो। दिल्लीविरुद्ध त टोलीले १ सय २५ रन बनायो। यो आईपीएलमा मात्रै नभई टी २० को इतिहासमै पावरप्लेमा सबैभन्दा धेरै रन बनेको कीर्तिमान हो।

औसत स्कोर

२००८ मा पहिलो इनिङको औसत स्कोर १ सय ५१ थियो । २००९ मा पुग्दा स्कोर झरेर १ सय ५० मा पुग्यो । २०२४ मा औसत स्कोर बढेर १ सय ९१ रनसम्म पुगेको छ । २०२३ मा पहिलो इनिङमा १ सय ६४ रन बनेको थियो । यस सिजनसम्म पुग्दा २७ रन बढेको छ ।

हरेक पाँच खेलमा शतक

२००८ मा प्रतियोगितामा ५९ खेलमा ६ शतक बनेको थियो । यानि औसत हरेक १० खेलमा एक शतक थियो । २००९ मा यो तथ्यांक झरेर ३० खेलमा पुग्यो । तर, २०२४ मा हरेक पाँच खेलमा एक शतक बनेको छ । २०२३ सम्म औसत निकाल्दा एक शतक १४ खेलमा आएको थियो । यो अहिले ३ गुणा घटेर ५ खेलमा पुग्यो ।

यस सिजनमा अहिलेसम्म १४ शतक बनिसकेको छ । यो आईपीएलको सिजनमा अहिलेसम्मकै सबैभन्दा बढी शतकसंख्या हो। यसअघि अघिल्लो सिजनमा १२ शतक नै बढी शतकसंख्या थियो। यानि दुई सिजनमा २६ शतक बनेका छन्।

यो भन्दा अगाडिका कुनै पनि सिजनमा २ अंकमा शतकसंख्या पुगेको थिएन। शुरुवाती २००८ र २००९ मा क्रमशः ६ र २ शतक बनेका थिए । शुरुवाती दुई वर्षको तुलनामा पछिल्ला दुई वर्षमा २२५ प्रतिशत बढी शतक बन्यो।

छक्का प्रहार पनि बढ्यो

चौका प्रहार हुने संख्यामा त्यति परिवर्तन नभएपनि छक्का प्रहार हुनेमा गति बढेको छ। २००८ मा एक खेलमा औसत ११ छक्का प्रहार भएको थियो । २००९ मा भने ९ सम्म पुग्यो तर, २०२४ मा हरेक खेलमा औसत १७ छक्का प्रहार भएको छ । जुन २००८ को तुलनामा ५५ प्रतिशतले बढी हो।

यस सिजनमा लिग चरण सकिसकेको छ । यतिन्जेल १२०८ छक्का प्रहार भइसकेको छ। यस सिजनमा यो संख्या अझै बढ्नेछ। अझै ४ खेल खेल्न बाँकी छ। यस हिसाबमा छक्काको संख्या बढेर १३ सय पार हुन सक्नेछ।

अहिले नै आईपीएलको इतिहासमा सर्वाधिक छक्काको संख्या पुगिसकेको छ। यसअघि २०२२ र २०२३ को सिजनमा १ हजार भन्दा बढी छक्का प्रहार भइसकेको थियो। जबकी २०२१ सम्म १४ वर्षमा कुनै पनि सिजनमा ८ सय ५० छक्का पनि प्रहार भएको थिएन।

२ सय रनमा पनि कीर्तिमान

यस सिजनमा लिग चरण समाप्तिसम्म ४१ पटक २ सय रन पार भएको छ । यसअघि अघिल्लो सिजनमा ३७ पटक २ सय रन पार गरेको कीर्तिमान बनेको थियो। तर, यसपटक भने लिग चरणमै यो संख्यालाई पार गरेर नयाँ कीर्तिमान बनेको छ।

जसमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बंैगलोरविरुद्ध बनाएको २ सय ८७ रन आईपीएल इतिहासकै सर्वाधिक स्कोरको कीर्तिमान बन्यो।

प्रतिक्रिया दिनुहोस्