राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप

42
Shares

काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा विभिन्न ५ खेल थप गरेको छ। मिसन– २०२६ अन्तर्गत पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि सोमबार राखेपका सदस्य–सचिव टंकलाल घिसिङले दोश्रो चरणमा ५ खेल थप गरिएको घोषणा गरेका हुन्।

पहिलो चरणमा पनि ५ खेल नै राखिएको थियो। थप गरिएका खेलहरुमा महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स रहेका छन्। ५२ खेलाडी र १० प्रशिक्षकलाई दोश्रो चरणमा समावेश गरिएको छ। कबड्डी र भलिबलमा समान १२–१२ खेलाडीले स्थान पाएका छन्।

भारोत्तोलन र कुस्तीमा समान ५–५ तथा एथलेटिक्समा समान ४–४ पुरुष/महिला खेलाडीलाई समावेश गरिएको छ। पहिलो चरणमा कराते, तेक्वान्दो, उसु, जुडो र बक्सिङका ५० खेलाडी र १० प्रशिक्षक तयारी प्रशिक्षणमा छन्।

जापानमा हुने २० औं एसियाली खेलकुदलाई केन्द्रमा राखेर त्यस अगाडि हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गरी राखेपले २०८० साल माघ १५ देखि मिसन– २०२६ अन्तर्गत पहिलो चरणमा ५ खेल समावेश गर्दै राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणको सुरुआत गरेको थियो । एसियाली खेलकुदपछि अर्को संस्करण लागि राखेपले लगत्तै लामो तयारी थालेको पहिलो पटक हो ।

सदस्य–सचिव घिसिङले छोटो तयारीले खेलाडीबाट ठूलो उपलब्धीको अपेक्षा गर्नु जायज नहुने भएकाले १९ औं एसियाली खेलकुदपछि स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सुरु गरिएको बताए।

लाजिम्पाटमा आयोजित उत्प्रेरणा कार्यक्रममा नायक राजेश हमालको पनि उपस्थित थियो। नायक हमालले विगतको कमीकमजोरीबाट पाठ सिकेर तयारीलाई अझ परिस्कृत गर्नु पर्ने बताउदै खेलाडीले जस्तोसुकै चुनौती पनि पार गर्न सक्छु भन्ने आत्मविश्वास पैदा गर्न सक्नु पर्ने धारणा व्यक्त गरे।

उत्प्रेरणा कार्यक्रममा पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई किट्स पनि प्रदान गरिएको थियो। डा. ज्ञानेन्द्र शाहले खेलाडी र प्रशिक्षकलाई डोपिङ सम्बन्धी विविध पक्ष बारे जानकारी गराएका थिए।