राजमार्ग खन्दा धाँजा फाटेर २ घर विस्थापित

3.5k
Shares

धादिङ ।

नौबिसे-मुग्लिन सडक खण्डमा पर्ने पृथ्वी राजमार्गको बैरेनीमा खडक भित्ता खार्ने क्रममा जाेखिम बढेपछि २ घर परिवार विस्थापित भएको छ ।
गल्छी गाउँपालिका वडा न ६ भट्टटारका दुई  परिवार विस्थापित भएका हुन् ।

बैरेनी स्वास्थ्य चौकी अगाडी रहेको पृथ्वी राजमार्गको भित्ता खार्ने क्रममा सडक भन्दामाथि पट्टी रहेको घरमा धाँजा फाटेपछि निजहरुलाईअन्यत्र  घर सार्नुपरेको गल्छी गाउँपालिका अध्यक्ष केदार खतिवडाले बताए ।

सडक भित्ता पट्टीको भाग खार्न लाग्दा भट्टटार निवासी धन बहादुर तामाङ र राजेश परियारको घर चर्किएको छ ।
आँगन र बारीमा धाँजा फाटेकाे छ । राजमार्गको भित्तामा ठुलाे कान्लाे हुनेगरि खारिएको र पहिलेदेखि कमजोर जमिन लड्ने अवस्थामा पुगेको छ ।
उनीहरूलाई नजिकै अन्य घरमा सुरक्षित राखिएको र हाल सडकको भित्ता खार्ने काम रोकिएको पनि अध्यक्ष खतिवडाले जानकारी दिए ।

पीडित परिवारले क्षतिपूर्ति उपलब्ध गराउन र  आफूलाई  सुरक्षित राख्न व्यवस्था मिलाइदिन गाउँपालिका कार्यालयमा निवेदन समेत दिएका छन् ।
घटनापछि सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनी र भुगर्वविद टोलीले स्थलगत अध्ययन गरेर क्षतीको सम्बोधन गर्ने बताइएको छ ।