कुटपिट अङ्गभङ्ग सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

154
Shares

काठमाडौं ।

कुटपिट गरेर अंगभंग बनाएको आरोप लागेका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ का २६ वर्षीय मिलन तामाङसहित दुईजना रहेका छन् ।

उनीहरूमाथि गत वर्ष फागुन १७ गते काठमाडौंको कोटेश्वरमा रहेको केएसी क्लब अगाडि राजन बरुवाललाई अंगभंग हुने गरी कुटपिट गरेर फरार भएको आरोप लागेको छ । उनीहरूलाई ललितपुरको महालक्ष्मिस्थानबाट लुकिछिपी गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तामाङलाई यसअघि विभिन्न कसुरमा पाँचपटक कारबाही भइसकेको खुलेको छ ।

प्रहरीको अनुसन्धानबाट पहिलोपटक तामाङलाई ०७३ फागुन १० गते जिल्ला प्रहरी परिसर ललितपुरबाट जुवा सम्बन्धी कसुरमा कारबाही भएको देखिएको छ । त्यस्तै, उनलाई ०७४ पुस २ गते प्रहरी वृत्त नयाँ बानेश्वरबाट ज्यान मार्ने उद्योग कसुरमा कारबाही भएको खुलेको छ ।

यसैगरी उनलाई ०७६ वैशाख ११ गते प्रहरी वृत्त महाराजगञ्जबाट अभद्र व्यवहारसम्बन्धी कसुरमा कारबाही भएको थियो । त्यस्तै, ०७७ माघ १४ गते प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहारसम्बन्धी कसुरमा कारबाही भएको थियो ।

तामाङलाई ०७७ माघ १८ गते प्रहरी वृत्त गौशालाबाट चोरी तथा डाँकासम्बन्धी कसुरमा कारबाही भएको खुलेको काठमाडौं उपत्याका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।