पुस्तक संस्मरण

भरोसामा अविश्राम ज्येष्ठजनको वृत्तान्त



बागबजारको एउटा गल्लीको चिया पसल, म अनेक आर्तनादका श्रृङ्खलाबीच मनभित्रका खैलाबैला महसुस गरिरहेको छु । बाहिरी एकाग्रता र मनभित्रको पीडादायी द्वन्द्वबीच कफी तान्दा निस्किएको सुरुप्पको आवाजले पनि आफैँलाई तर्साएको छ । फेरि पनि मैले मुहारमा त्रास वा पीडा देखाएको छैन ।

अभिभावक भएको परिपक्व परिवेश र सहाराविहीन यथार्थता । उफ् ! कति पेचिलो जिन्दगी । बाल्यकालमै बाबुको सहारा खोसिएको तथ्य र झन्डै १५ वर्षदेखि आमाको पारिलो काखको लागि तड्पिएको वास्तविकताले रन्थनाउँछ मलाई । टाउकोमा नाम्लोको बोझले मानिसलाई निकट खुशीको आभास मिल्छ तर मैले महसुस गरिरहेको भावशून्य बोझले निकट पीडाको अनुभूति गरिरहेको छु ।

खबर दुनियाँमा अभिभावकलाई दुत्कार्ने तथ्य हेडलाइन पढ्दा म त्यस्ता छोराछोरीलाई तिरस्कृत अभिवादन टक्र्याउँछु । लौरोसमान उपस्थितिले पनि अभिभावकको ओजिलो र भरोसायोग्य सहारा मिल्ने तथ्य किन बुझ्दैनन् स्वार्थी छोराछोरीहरु !चरिकोटबाट केही माइलको दूरीमा रहेको काठमाडौँमा छु म यति बेला । मेरो आश्रयमा रहेको युजी (मैले घरमा पालेको कुकुर) नियास्रिएको अनुमानले म नरमाइलो मानिरहेको छु। एउटा जनावरप्रतिको मेरो लगाव, अभिभावक हुनुको इमानदार साक्षी ठान्दछु । त्यस्तै इमानदारिता हरेक अभिभावकले निर्वाह गरिरहेको हुन्छ । यो परिघटनामा एउटा सन्ततिको रुपमा युजी पनि त्यत्तिकै इमानदार छ । म केही दिन टाढा हुने सङ्केत पाएको उसले मलाई ठुस्किएर बिदाइ गरेको झल्को मेरो आँखावरिपरि तिर्मिराइरहेको छ।

युजीसँग भावना छ, स्नेह छ, आत्मीयता छ, इमानदारिता छ र अपनत्व छ । तर धेरै अभिभावकले आफ्ना छोराछोरीबाट युजीको जतिमात्र पनि अपनत्व महसुस गर्न सकिरहेका छैनन् । अभिभावक पारिवारिक एकताको सौन्दर्य हो । आत्मीय स्नेहको कडी हो। यो सौन्दर्यमा रङ्ग पोत्न खोज्दा आफ्नै अनुहार कुरुप बन्छ । आत्मीय एकता तोड्न खोज्दा आफैँ एकाङ्की भड्खालोमा जाकिनुपर्ने हुन्छ । तर यो वास्तविकतालाई कलियुगित छोराछोरीले अस्वीकार गर्दाको परिणाम हो धेरै अभिभावक उमेरको एउटा कमजोर पलमा सडकपेटी, वृद्धाश्रम र घरकै कुनै कुनामा अपहेलित जीवन गुजारिरहेको वास्तविकता ।

हामी नेपाली, अधिकांश हिन्दुधर्मप्रति आस्था राख्ने समाज छ । हिन्दुधर्मले बुबाआमालाई भगवान्को सर्वोच्च रुप मानेको छ । तर के हामी नेपालीले हिन्दुधर्मको आस्थालाई आत्मसात् गर्न सकेका छौँ ? पक्कै छैन । किनभने हामी धेरैले अभिभावकलाई बुबा–आमा अर्थात् अभिभावकलाई भगवान्को सर्वोच्च रुप मान्नै सकेका छैनौँ । एउटा शिलामा अबिर दलेको देख्दा श्रद्धाले शिर निहुँराउने हामी त्यही शिलामा आफ्ना खुशीको पसिना बगाउने अभिभावकलाई भने अपहेलना गरिरहेका हुन्छौँ ।

यति बेला म चिनियाँ समाजलाई सम्झन्छु । कुकुरको मासु खान्छ र ज्येष्ठ नागरिकलाई गोली ठोकेर मार्छ भन्ने अफवाहको बीच प्रगतिको सिखर चुम्दै गएको चीनमा अभिभावक अर्थात् ज्येष्ठ नागरिकको सम्मान लोभलाग्दो छ। अनि कुकुरलाई गरिने स्नेह इखालु छ। आफ्ना सन्तानको आडमा बिहानीपख सडकपेटीमा कुकुर डोर्‍याएर टहलिरहेका ज्येष्ठ नागरिकको सौन्दर्यले चीनको समृद्धिमा टेवा पुगेको मान्नुपर्छ। चिनियाँ सरकारले नै पनि हरेक ज्येष्ठ नागरिकको स्वास्थ्य र हेरचाहको लागि प्रत्येक समुदायमा स्वास्थ्य क्लिनिक, योग सेन्टर, जिमखाना सञ्चालन गरिदिएको छ। तर नेपालमा न परिवारका सदस्यले (सबै हैनन्) ज्येष्ठ अभिभावकको सम्मान र संरक्षण गर्न सकेका छन्, न सरकारले नै ज्येष्ठ नागरिकको लागि उपयुक्त व्यवस्थापन गरिदिन सकेको छ।

सडकपेटी र वृद्धाश्रममा छोराछोरीको अपहेलना लुकाएर उनीहरुकै लागि आत्मीयताको आँसु बगाइरहने ज्येष्ठजनहरु किन चीनतिर जन्मिएनछन् भन्ने खट्को पलाउँछ मनमा । कमसेकम चीनमा ज्येष्ठ नागरिकको लागि विकल्प त छ, छोराछोरीले नहेरे सरकार । तर नेपालमा त धेरै ज्येष्ठ नागरिकलाई छोराछोरीले हेरेको पाइँदैन, सरकारले ज्येष्ठ नागरिकलाई हेर्नुपर्छ भन्ने सोचेकै छैन ।
०००
कफीको परिमाण गिलासको फेदतिर थिग्रिँदै गएको छ । मैले परिकल्पना गरेको अभिभावक परिवेशभित्रका धेरै लालाबालाहरु विद्यालय र कलेजको पोशाकमा होटलका दायाँ–बायाँ थुप्रँदै छन् । चियाको चुस्की र चुरोटको धुवासँग देश–विदेशका तथ्य–कथ्य मिसाएर गुड्डी हाँक्न तल्लीन ती छोराछोरीलाई मेरो एकाग्रता र ज्येष्ठजनका केही थान फोटोसहितको ‘शताब्दी व्यक्तित्व’ पुस्तकसँग कुनै सरोकार नै छैन ।

होटलको टेबलमा चुरोटको धुवासँग रुमल्लिएको ‘शताब्दी व्यक्तित्व’ पुस्तकले मलाई भने झस्काएको छ । पुस्तकको रङ्गसँग लपेटिएको ‘राष्ट्रिय ज्येष्ठ नागरिक कोष’को पहिचानले मलाई त्यसका सभापति वसन्तराज कार्की सम्झाइदिएको छ ।

‘…प्रिय मित्र दोलखाका निष्ठावान् पत्रकार साहित्यकार श्री चिरञ्जीवी (मञ्जु) मास्केलाई सप्रेम उपहार !’ सभापति वसन्तराज कार्कीले पुस्तकको पहिलो पन्नामा लेखिदिएका रहेछन्, २०८० माघ २३ गते । नढाँटी भन्छु– पुस्तक पाएदेखि यसमा मेरो ध्यान नै गएको रहेनछ । म आफ्नो अभिभावकको सम्झनामा यो पुस्तकलाई एउटा निकट भरोसा ठान्न सक्नेछु । किनभने यसभित्र उमेरको निश्चित अवधि पार गरेर पनि अभिभावकीय भरोसामा अविश्राम ज्येष्ठजनको वृत्तान्त रहेको छ ।

वसन्तराज कार्की, उमेरको हिसाबले एउटा तहको मेरो अभिभावक नै हुन् । उनको क्रियाशीलता, लगनशीलता, बौद्धिकतासँग म झन्डै ३५ वर्षदेखि परिचित छु । जुनसुकै फोरमको नेतृत्व गर्दा पनि नयाँ–नयाँ काम गर्न रुचाउने उनको स्वभावकै परिणाम हुनुपर्छ ‘राष्ट्रिय ज्येष्ठ नागरिक कोष’ प्रकाशक रहेको यो पुस्तक ‘शताब्दी व्यक्तित्व’ ।

पुस्तकभित्र नुवाकोटको १२१ वर्षको बाटुली लामिछानेका छोराछोरीप्रतिको स्नेहको कहानी छ, दाङको ११० वर्षीय जानकी डङ्गौरा थारुको संघर्षको कथा छ र १०० वर्ष नाघेका अरु धेरै ज्येष्ठ नागरिकको संघर्ष, स्नेह र सुखद–दुःखद संस्मरणका अभिलेखहरु छन् ।

‘शताब्दी व्यक्तित्व’ पुस्तकलाई केही थान ज्येष्ठजनको कथा–कहानीलाई शब्दले तन्काउँदै लेखिएको नोटबुक ठानियो भने पुस्तक प्रकाशनको औचित्य पुष्टि हुन सक्दैन । ती शब्दहरुमा, शब्दमा पोखिएका भावनाहरुमा र भावनाले हेलिएका तथ्यहरुमा सलबलाउँदै ज्येष्ठजनको उमेरसँग सामीप्यता खोज्यौ भने बल्ल वसन्तराज कार्कीलाई बुझ्नेछौ । वसन्तराज कार्कीले पुस्तक प्रकाशन गर्नुको औचित्य चाल पाउनेछौ । र, वसन्तराज कार्कीले अत्यन्त महत्वका साथ प्रकाशन गरेको पुस्तकको गरिमा बुझ्नेछौ ।

वसन्त दाइले मलाई पुस्तक थमाउँदै भनेका थिए– मञ्जु, यो पुस्तकको समीक्षा लेखिदिनु है ! त्यति बेला आफूभन्दा अग्रजलाई मुख लाग्नु उचित ठानिन । तर त्यति बेलै मनले भनिसकेको थियो– यति धेरै ज्येष्ठजनको भावना सलबलाएका पुस्तकको समीक्षा गर्ने औकात मेरो हैन । र, कुनै पनि पुस्तकको समीक्षा लेख्नुपर्छ वा लेखिन्छ भन्ने मान्यताको पत्रकार म हैन । किनभने पुस्तकमा लेखकले मनलागी शब्द थोपरेको नभई कुनै पात्रको तथ्यलाई भावनात्मक तौल दिएका हुन्छन् । त्यो भावनाको तौललाई अर्को कोही लेखक÷पत्रकारले अनावश्यक फुर्का जोडेर आलोचना, टिप्पणी वा प्रशंसा गर्नु पुस्तक लेखकप्रतिको हैन पुस्तकमा प्रस्तुत भएका पात्रप्रतिको अपमान हुन सक्छ । अर्थात् लेखकले अड्कलेको भावनात्मक तौलको अपमान हुन सक्छ ।

‘शताब्दी व्यक्तित्व’ पुस्तकका हरेक पात्रसँग मैले निकट आत्मीयता पाएको छु । नुवाकोटको १२१ वर्षकी बाटुली लामिछाने, दाङको ११० वर्षीय जानकी डङ्गौरा थारुमात्र हैन, काठमाडौँकी अष्टमाया नगरकोटीको सक्रियता, प्युठानका गोपाल वैद्यको सेवाभाव, दोलखाका चन्द्रबहादुर सुनुवारको आर्मी कथा, इलामका श्रीनारायण खनालको धार्मिक आस्था, कैलालीकी फुलिया थरुनीको सांस्कृतिक रुझान मेरा लागि लेखनी मार्ग र स्रोत बनेको छ ।

‘शताब्दी व्यक्तित्व’ पुस्तकका पात्रको भावनासँग हेलिँदै गर्दा म अभिभावक विहीनताको यथार्थतामा उद्वेलित बनेको छु । १२१ वर्षसम्म पनि अभिभावकलाई जीवित पाउने बाटुली लामिछानेको परिवार यो संसारकै भाग्यमानी हैनन् र ? बाटुलीको छत्रछायामा उनको परिवारका सदस्यहरुले एकपछि अर्को उपलब्धिको सिखर चुमेको तथ्य पढ्ने रहर जागेको छ मलाई । बाटुलीको परिवारको कथाले लज्जित र आजित बन्दै सडकपेटी र वृद्धाश्रममा अभिभावक छोडेर कामको बहानामा दौडिरहने स्वार्थी सन्तानको क्षमायाचनाको सन्देश सुन्न आतुरता छ मलाई ।

ज्येष्ठजनको सम्मानमा वसन्त दाइले ‘शताब्दी व्यक्तित्व’ पुस्तक निकाले । र, पुस्तकमा समेटिएको देशभरिका ज्येष्ठजनको भावनाले अभिभावकीय सम्मानको सन्देश दिन सक्यो । अब यो सन्देशले अपहेलित जीवन बाँचिरहेका ती तमाम ज्येष्ठजनहरुको सम्मान र संरक्षण हुने अवस्था बन्नुपर्छ । कुनै दिन वसन्त दाइले शताब्दी व्यक्तित्वको सम्मान भनेर अर्को पुस्तक निकाल्नेछन् । जहाँ अपहेलित ती तमाम ज्येष्ठजनहरुलाई आफ्ना सन्ततिले क्षमायाचनसहित घर फर्काएको कहानी कोरिएको होस् । सरकारले ज्येष्ठजनको विशेष व्यवस्थासहितको योजना ल्याएको तथ्य समेटिएको होस् ।

मेरो परिकल्पनामा वसन्त दाइको मुहारले फेरो मारेको छ। गिलासमा थिग्रिँदै गएको कफीको अन्तिम चुस्की तानेर म होटलबाहिर निस्कँदै छु। शिलालाई अबिर दलेर भगवान् बनाउन पसिना बगाउने अभिभावकहरुको स्नेही महानताले अध्ययनको बहानामा होटलका चेपतिर छेलिएर चियासँग चुरोटको धुवाँ फ्याँक्न तल्लीन युवा हुलले मलाई घरी–घरी अवरोध गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्