सिटीले जित्यो लगातार चौथो उपाधि



एजेन्सी ।

म्यानचेस्टर सिटीले लगातार चार पटक उपाधि जितेर प्रिमियर लिगमा कीर्तिमान बनाएको छ। सिटीले यस सिजनमा उनीहरूको अन्तिम खेलमा वेस्टह्याम यूनाइटेडलाई ३–१ ले हराएर उपाधि जितेको हो। सिटीलाई जित दिलाउन फोडेनले २ गोल गरे भने रोडरीले एक गोल गरेका थिए।

उता उपाधि दावेदारीमा रहेको आर्सेनलले एभर्टनलाई २–१ ले हरायो। यो जितबराबरीमा रोकियो। योसँगै आर्सेनल लगातार दोस्रो सिजनमा उपाधिबाट विमुख हुन पुग्यो । आर्सेनलको ८७ अंक हुँदा सिटीको ९१ अंक थियो।

यो खेल हुन अघि आर्सेनलले उपाधि जित्न एभर्टनलाई हराउनु पर्ने र सिटीले हार्नु पर्ने समीकरण थियो। सिटीका लागि फोडेनले २० मिनेटभित्रै २ गोल गरेर आर्सेनललाई निरास बनाइदिएका थिए। सिटीले जितेकोमा आर्सेनलको जित पनि उपाधि दिलाउन पर्याप्त भएन।

अंकतालिकामा शीर्ष चारमा रहेका म्यानचेस्टर सिटी, आर्सेनल, लिभरपुल र एस्टनभिल्लाले आगामी च्याम्पियन्स लिग खेल्ने भएका छन् । एस्टनभिल्लाले पहिलो पटक च्याम्पियन्स लिग खेल्न तय गरेको हो।

पाँचौं स्थानमा रहेको टोटनहामले युरोपा लिग खेल्नेछ। यसपटक प्रिमियर लिगका महारथी टोलीहरूमध्ये चेल्सी र म्यानचेस्टर यूनाइटेडको प्रदर्शन निकै खस्किएको थियो । चेल्सी छैटो स्थान र यूनाइटेड आठौं स्थानमा रहेर यस सिजन २०२३–२४ को अन्त्य गरे।

रेलिगेसन र प्रोमोसन

यस सिजनबाट ल्युटन सिटी, बर्नली र शेफिल्ड यूनाइटेड रेलिगेशनमा परेका छन्। ल्युटन, बर्नली र शेफिल्डले आगामी २०२४–२५ सिजनमा च्याम्पियनसिप खेल्नेछन्।

यही सिजनबाट प्रिमियर लिगमा प्रोमोसन भएका तीन टोलीमध्ये दुई टोलीको टुंगो लागिसकेको छ। जसमा, लेस्टर सिटी र इप्सविच टाउन रहेका छन्।

तेस्रो टोलीको यही मे २६ बाट टुंगो लाग्नेछ। सो दिन लीड्स यूनाइटेड र साउथाम्पटनबीच प्लेअफ फाइनल खेलको विजेताले प्रिमियर लिगमा स्थान बनाउनेछ।

प्रतिक्रिया दिनुहोस्