ज्येष्ठ नागरिक अन्तरपुस्ता सिप हस्तान्तरण गर्दै धुलिखेल



धुलिखेल। 

धुलिखेल नगरपालिकाले ज्येष्ठ नागरिक अन्तरपुस्ता सिप हस्तान्तरण गराएको छ । हरेक वर्ष आयोजना गर्ने उक्त कार्यक्रममा १२ वटै वडाका ज्येष्ठ नागरिकहरु सहभागी थिए । ज्येष्ठ नागरिकहरूले प्राप्त गरेका ज्ञान, सिप र अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्ने अवसर नगरपालिकाले प्रदान गरेको हो ।

नगरपालिकाको लैङ्गिक विकास तथा समाज कल्याण शाखाद्वारा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकहरूले टपरी, डोको, चकटी बुन्ने तथा बत्ती काट्ने लगायतका सिपहरु नयाँ पुस्तालाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा विद्यालयमा अध्ययनरत बालबालिकाहरु सहभागी थिए । तेस्रो पुस्ताका बालबालिकाहरुलाई सिप हस्तान्तरण गर्दै ज्येष्ठ नागरिकहरूले ज्ञान र अनुभव जति वितरण गर्न सक्यो उति नै सहज हुने बताए । पहिला पहिला प्रयोग गर्ने धेरै बस्तुहरु लोप हुँदै गएकाले त्यसबाट उत्पन्न समस्याका बारेमा समेत अवगत गराउँदै ज्येष्ठ नागरिकहरूले लोप हुन लागेका वस्तुहरुको संरक्षणका लागि सिपहरुको हस्तान्तरण महत्त्वपूर्ण रहेको ज्येष्ठ नागरिक पूर्णबहादुर कर्माचार्यले बताए ।

नगर प्रमुख अशोक ब्याञ्जुले नगरपालिकाले तीन पुस्ता विचको सम्बन्ध, अनुभव र सिपलाई एक अर्कामा समाहित गराउन तथा पुराना अनुभव र सिप नयाँ पुस्तालाई हस्तान्तरण गर्ने गरी तयार गरेको कार्यक्रमलाई निरन्तरता दिने बताए । ‘मान्छे जन्मँदा देखि मृत्युहुँदाको अवस्थासम्म आवश्यक हुने सिपबाट उत्पादित सामाग्रीहरू आफै उत्पादन गर्ने अवस्थाबाट नेपाली समाज विकसित भएको थियो’–नगर प्रमुख ब्याञ्जुले भने–‘त्यतिबेला अध्ययन कम थियो होला अनुभव धेरै थियो । अहिलेको पुस्ताले अध्ययन गर्ने अवसर पायो । अनुभव लिने अवसर पाएन । प्रविधीसँगै हुर्किएको पुस्ताले ज्येष्ठ नागरिकबाट प्राप्त गर्ने सिपलाई ब्यवहारमा उर्तान निरन्तरको अभ्यास आवश्यक रहेको नगर प्रमुख ब्याञ्जुले बताए ।

सामाजिक विकास समितिका संयोजक एवं धुलिखेल नगरपालिका वडा नम्वर ३ का अध्यक्ष गणेश आचार्यले अन्तरपुस्ता सिप हस्तान्तरण कार्यक्रमको मोडल आगामी वर्ष अझै बृहत्त तथा समुदाय स्तरमा समेत पु¥याउने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, अधिकृत पुजा काफ्ले, भोजकुमार ठकुरी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, सहभागी तेस्रो पुस्ताका प्रसन्न कोँजु, ज्येष्ठ नागरिक पूर्णबहादुर कर्माचार्य लगायतले पुस्ता अनुसार सिप पनि हस्तान्तरण गर्न सकिए समुदायलाई आवश्यक पर्ने धेरै वस्तुहरुको सहजता हुने बताए ।

 

प्रतिक्रिया दिनुहोस्