डोकोमा तरकारी बेचेरै साढे २ तलाको घर

 छोरालाई इन्जिनियर पढाउने आम्दानी पनि तरकारी खेती



स्याङ्जा। 

स्याङ्जाको चापाकोट नगरपालिका–९ सेराकी ५२ वर्षीया लक्ष्मी खनालको दिनचर्या दुई किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर चापाकोट बजारमा बेच्नमै व्यस्त हुन्छ । आफूले उत्पादन गरेका तरकारी गाउँ तथा बजारका घरघरमा पु¥याएर बिक्री गर्ने उनको दैनिकी निकै लामो छ ।

मौसम अनुसारका तरकारी उत्पादन गरी आफैँले डोकोमा बोकेर बजार जाने गरेकाले बिक्रीको समस्या नभएको उनले बताइन् । “मौसम अनुसार उत्पादन हुने तरकारी दुई-चार किलोका दरले टिप्छु, सबै मिलाउँदा भारी पुग्छ”, उनले भनिन्, “ग्राहकले पनि आफूले चाहेको ताजा तरकारी घरदैलोमै पाउनुहुन्छ ।”

उनले मौसमअनुसार तरकारी खेती गरेकी छन्  । आफूले उत्पादन गरेका तरकारी घरदैलोमै पुगेर बिक्री गर्ने गरे पनि होलसेलमा कसैलाई पनि नदिएको लक्ष्मीले दाबी गरिन । उमेरले पाँच दशक पुगेकी लक्ष्मीको परिवारको मुख्य आम्दानीको स्रोत नै तरकारी हो । लक्ष्मीले ३२ वर्षदेखि यसैगरी डोकोमा बोकेर तरकारी बेच्दै आएकी छन्। चापाकोट बजारमा आफूलाई ‘तरकारी आमै’ भनेर चिन्ने र बोलाउने गरेको लक्ष्मी बताउछिन् । प्रत्येक दिन चापाकोट बजारका घरघरमा तरकारी पु¥याउने लक्ष्मीले दैनिक एक डोका तरकारी बिक्री गरेर दुई हजारदेखि तीन हजारसम्म कमाउने गरेको बताइन् ।

“तरकारी भएका बेला बिहान ६ बजे बिक्रीका लागि निस्कन्छु”, उनले भनिन्, “दिउँसो १–२ बजेमात्रै तरकारी बिक्री गरेर घर आउँछु ।” तरकारी बिक्री गरेर घर फर्केपछि बारीमा तरकारी लगाउन व्यस्त हुने गरेको उनको भनाइ छ । सासुससुरा, बिरामी श्रीमान् र पाँच छोराछोरीको लालनपालन, पढाइ तथा घरखर्च लक्ष्मीले तरकारी बिक्रीबाट भएको आम्दानीले चलाउँदै आएकी छन् । छोरीहरुको उच्च शिक्षा, बिहेवारी र छोरालाई इन्जिनियर पढाउने आम्दानी पनि तरकारीखेतीबाटै भइरहेको लक्ष्मीले जानकारी दिइन् । “घरखर्च, छोराछोरीको बिहेवारी, पढाइ खर्च सबै यसैबाट चलाउँदै आएकी छु”, उनले भनिन्, “यसका अलावा बचत भएको रकमबाट साढे दुई तलाको घर, चापाकोटमै नौ रोपनी जग्गा र बुटवलमा नौ धुर जग्गा जोडेकी छु ।” छोरीहरुको बिहेवारी भइसकेको र छोरा पढ्नका लागि बाहिर भएकाले अहिले आफू एक्लै तरकारी खेती गर्दै आएको उनले सुनाइन् । परिश्रम गर्न सके आम्दानी गर्न सकिने प्रशस्त बाटा रहेको उनको बुझाइ छ ।

“उत्पादन भएका तरकारी आफैँ बिक्री गर्न हिँड्दा कतिले तल्लो छेउ पारेर पनि बोल्छन्”, लक्ष्मीले भनिन् , “आफ्नो काम गरेर खाँदा पनि त्यस्तो व्यवहार गर्छन्, श्रमको सम्मान नहुँदा दुःख लाग्छ तर, यही पेसाले यहाँसम्म ल्यायो, म खुसी छु ।” गत वर्षमात्रै उनले २५ मुरी गुन्द्रुक बिक्री गरेकी थिइन् । गत वर्ष १० मुरी गुन्द्रुक काठमाडौँमा बिक्री गरेकी थिइन् भने अरु स्थानीय चापाकोट बजारमै बिक्री गरेकी थिइन्।

 लक्ष्मीको खेतबारीमा अहिले करेला, घिरम्ला, टमाटर, काउली बन्दा, सिमी, बोडी, काँक्रा, भिण्डी, लौकालगायत तरकारी छन् ।

प्रतिक्रिया दिनुहोस्