अमलटारी, होमस्टे भिलेजमा परिणत

266
Shares

 नवलपरासी। 

एक दशक अघिदेखि संचालनमा रहेकाे अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेलाई होमस्टे भिलेजमा परिणत गरिएको छ ।
नवलपुर जिल्लाकाे कावासाेती १५ मा अवस्थित अमलटारी होमस्टे भिलेजकाे गण्डकी प्रदेश सभा सदस्य पद्मा जिसी श्रेष्ठले शिलापत्र अनावरण गरी  शनिवार उद्घाटन गरे।

उद्घाटन अवसरमा प्रमुख अतिथि श्रेष्ठले प्रकृतिले दिएका अनुपम उपहारको संरक्षण र संवर्द्धन गरी सोही प्राकृतिक स्रोतको परिचालबाट आय आर्जन गर्न सकिने बताए ।

कार्यक्रममा कावासाेती नगर प्रमुख विष्णु प्रसाद भुसालले अमलटारी होमस्टे भिलेजकाे दिगाे विकास याेजनामा नगरपालिका सदैव सहयाेगी रहने छ भने ।

सोही अवसरमा नेकपा एमालेका जिल्ला अध्यक्ष एवं संविधान सभा सदस्य जीवनकुमार श्रेष्ठले अमलटारी सामुदायिक होमस्टेले होमस्टे भिलेज घोषणा गरेर स्वदेशी पाहुनाका साथै अन्तर्राष्ट्रिय पाहुनालाई पनि आकर्षित गर्न सक्ने बताए ।

कार्यक्रममा होमस्टे भिलेजका अध्यक्ष एवं होमस्टे महासंघका केन्द्रीय अध्यक्ष  प्रेमशंकर मर्दनिया थारूले अमलटारी सामुदायिक होमस्टे क्षेत्रको समग्र विकास सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

अध्यक्ष मर्दनियाले बिक्रम सम्वत २०७० जेठ ५ गते स्थापना भएकाे अमलटारी सामुदायिक होमस्टे र यहाँका अन्य हाेटल तथा रेष्टुरेन्टहरूलाई पनि   होमस्टे भिलेजमै रूपान्तरण  गरिएको बताए।
अध्यक्ष मर्दनियाका अनुसार अमलटारी होमस्टे भिलेजमा ३४ हाेमस्टेका ६४ काेठाहरू रहेका छन् । यसलाई बिस्तार गर्दै यहाँका हरेक घरलाई होमस्टे बनाउँदै लगिने छ ।

अमलटारी हाेमस्टेमाआउने पाहुनाहरूले थारू बाेटे लगायत आदिवासी समुदायकाे माैलिक खाद्य परिकार तथा स्थानीय नृत्य, कला, संस्कृति सहितकाे आतिथ्यता पाउने गरेका छन् । साथै अमलटारी होमस्टे भिलेजले पाहुनाहरूकाे राेजाईमा हात्ती तथा जंगल सफारी, चरा अवलाेकन, डुङ्गा सयर,आदिवासी थारू संस्कृति  संग्रहालय अवलाेकन गराउदै आएको छ ।

यहाँको होमस्टे भिलेजलाई निकुञ्जका दुर्लभ एक सिंगे गैंडा,बाघ,भालु,चितुवा तथा चराचुरुङ्गी अवलोकनमा आउने पर्यटक बस्ने पाहुना घर पनि भन्ने गरिन्छ ।
अमलटारी होमस्टेले स्थानीय समुदाय माझ हमार दिगाे गाउँ पर्यटन सहकारी संस्था लिमिटेड पनि सञ्चालन गर्दै आएको छ ।