एटीएफ यु–१२ टिम च्याम्पियनसिप सोमबारदेखि



काठमाडौं ।

नेपाल टेनिस संघको आयोजनामा एटीएफ यु–१२ टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) सोमबारदेखि हुने भएको छ।

प्रतियोगिताअन्तर्गत ब्वाइजमा ७ तथा गर्ल्समा ५ राष्ट्रको सहभागिता रहनेछन्। ब्वाइजमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, मालदिभ्स, पाकिस्तान र भुटान सहभागी हुनेछन् । गल्र्समा पाकिस्तान र भुटानको सहभागिता रहने छैन।

नेपालबाट ब्वाइजमा निश्चल ज्ञवाली, विश्वविशेष डल्लाकोटी र शहनवाज आलमले प्रतिस्पर्धा गर्नेछन् । गर्ल्समा अनुश्री धोजु, सारा पन्त र आयुशा जिसीले खेल्नेछन्। नेपाली खेलाडीको प्रशिक्षकमा सूर्यभूषण वज्राचार्य (ब्वाइज) तथा कान्छा खड्गे (गर्ल्स) रहेका छन्।

एक टिममा ३ खेलाडी रहनेछन्। टिममा २ सिंगल्स र १ डबल्स खेल हुनेछ। ब्वाइज/गर्ल्स दुवैमा फाइनल पुग्ने २ राष्ट्र काजाकिस्तानमा सेप्टेम्बरमा हुने एटीएफ यु–१२ टिम प्रतियोगिताका लागि छनोट हुनेछन्। शुक्रबारसम्म चल्ने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ।

प्रतिक्रिया दिनुहोस्