काभ्रेमा पोलियोविरुद्ध खोप कार्यक्रम जेठ १३ देखि २६ गतेसम्म संचालन हुने



काभ्रेपलाञ्चोक ।

काभ्रेपलाञ्चोक जिल्लामा पोलियोविरुद्ध राष्ट्रिय खोप कार्यक्रम जेठ १३ देखि २६ गतेसम्म संचालन हुने भएको छ । खोप कार्यक्रम, त्यसको पुर्व तयारी तथा खोपमा संलग्न विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई अभिमुखिकरण लगायतका कार्यक्रमका बारेमा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जानकारी गराएको छ ।

जिल्ला खोप समन्वय समितिको आयोजनामा आयोजित अन्र्तक्रिया कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्लाका २०७३ वैशाख देखि २०७५ असोज महिना भित्र जन्मिएका सबै बालबालिकाहरुलाई पोलियो विरुद्धको आईपिभि खोप लगाईने कार्यालय प्रमुख रागी श्री कक्षपति श्रेष्ठले जानकारी गराईन् ।

अन्य बालबालिकाहरुलाई भने नियमित खोपमा नै पोलियो विरुद्धको उक्त खोप लगाउने गरिएको छ । विशेषगरी ५ वर्ष मुनिका बालबालिकाहरुलाई उक्त खोप लगाउने गरिएको छ । ‘विश्वमा नै पोलियो विरुद्धको आई।पि।भि खोप २०७३ बैशाख देखि २०७५ असोजसम्म अभाव भएका कारण सोहि अवधीमा जन्मिएका बालबालिकाहरुलाई खोप लगाउन सकिएको थिएन’–कार्यालय प्रमुख रागि श्री कक्षपति श्रेष्ठले भनिन–‘राष्ट्रिय अभियान संचालन गरी उक्त अवधीमा छुटेका बालबालिकाहरुलाई खोप लगाउने तयारीका आधारमा काभ्रेका १३ वटै पालिकामा रहेका १७ हजार ७ सय ५९ बालबालिकाहरुलाई खोप लगाउने तयारी गरेका हौं ।’

खोपका लागि आवश्यक जनशक्ति, जनशक्तिलाई तालिम तथा अभिमुखिकरण, खोप केन्द्र र स्वंसेवकहरुको परिचालनको ब्यवस्थापन गरिएको छ । ५ सय ११ वटा खोप केन्द्र मार्फत पालिकाहरुले तय गरेको तालिकाका आधारमा खोप लगाईनेछ । त्यसका लागि स्थानीय तहका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, स्वंयसेविकाहरु, खोप कार्यकर्ताहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई खोपका बारेमा अभिमुखिकरण गराउने कार्यक्रम शुरु भएको छ । पोलियो रोग उल्मुलनका लागि विश्वमा अभियान संचालन भईरहेको छ ।

एलर्जी हुने, सिकिस्त विरामी भएका तथा उक्त अवधी बाहेकमा जन्मिएका बालबालिकाहरुलाई भने उक्त खोप लगाउन नहुने जानकारी गराईएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जनस्वास्थ्य कार्यालय प्रमुख रागि श्री कक्षपती श्रेष्ठ, खोप अधिकृत पार्थमणी न्यौपाने, डब्लुएचओका प्रतिनिधी लगायतले पोलियो विरुद्धको आई।पि।भि खोप र त्यसको प्रभावकारीता तथा आवश्यकताका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्