गौतमलाई छायाछवि पत्रकारिता पुरस्कार



हेटौंडा ।

मकवानपुरका युवा पत्रकार मणिराज गौतमलाई छायाछवि पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघ मकवानपुर र चलचित्र पत्रकार संघ मकवानपुर शाखाका अध्यक्षसमेत रहिसकेका गौतमलाई १५ औं प्रिज्मा डीसिने अवार्डका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नगद १५ हजारसहित छायाछवि चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

नेपाल कलाकार संघ अध्यक्ष मोहन निरौला, प्रथम अभिनेत्री भुवन चन्द र वरिष्ठ संगीतकार शम्भुजित बाँसकोटालगायतले उनलाई पुरस्कार प्रदान गरे ।

काठमाडौं र हेटौंडामा रहेर दुई दशकदेखि विधागत् पत्रकारितामा क्रियाशील गौतम चलचित्र पत्रकार संघ मकवानपुर शाखाको दुई कार्यकाल अध्यक्ष रहे । उनी डेढ दशक थाहासञ्चार नेटवर्कमा आबद्ध थिए । उनले केही फिल्ममा अभिनय गर्नुका साथै निर्माणमा समेत सहकार्य गरेका छन् । गौतम हेटौंडाबाट सञ्चालित सीधाखबर डट्कमका सञ्चालक हुन् ।

पुरस्कृत गौतमले पुरस्कारले मोफसलमा विधागत् पत्रकारितामा सक्रियलाई प्रोत्साहन मिल्ने प्रतिक्रिया दिए । डिजिटल माध्यमबाट निर्माण गरिएका फिल्मकर्मीलाई प्रोत्साहन गर्न अवार्ड हरेक वर्ष आयोजना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्