मिनेटमा झर्‍यो बिकटको यात्रा

294
Shares

हेटौंडा । 

‘बिहान गाउँबाट हिँड्यो । लामो समयको यात्रापछि पुगिन्थ्यो हेटौंडा बजार,’ स्थानीय लवाङ लामा सम्झन्छन् । चाँडै हेटौंडा पुगेर काम भ्याएर फर्कन्छु भनेर हिँड्यो, धेरै पटक काम नसकेर बास बस्नुपरेको उनी  बताउँछन् ।

‘गाउँको बाटो डाँडापाखा हुँदै धुलाम्य भएर बल्लबल्ल थानाभ¥याङ उत्रिएर कपडा फेरेर कामकाजमा लाग्ने गरेका हामी हाल छोटो समयमै हेटौंडासम्मको यात्रा गर्नसक्ने भएकोमा खुसी छौं,’ उनले बताए ।

तत्कालीन बसामाडी गाउँपालिकाबाट हेटौंडा उपमहानगरपालिकामा गाभिएको ध्याङ्सिंटार, शिखरकोटलगायत क्षेत्रका बासिन्दा नकौली–भैरवडाँडा हुँदै हेटौंडा–११ को थानाभ¥याङ उत्रेर बजारसम्मको यात्रा गर्ने गर्दथे ।

हाल पनि पैदलयात्राबाट करिब ४ घण्टा र सवारीबाट झन्डै अढाइ घण्टा यात्रा गर्नुपर्ने हेटौंडा–१ का प्राविधिक छठुलाल शाहले बताए । सुरुसुरुमा यहाँसम्म आउँदा लाग्ने समय र हालको समयमा घेरै फरक भइसकेको उनी  बताउँछन् । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–११, शहीद स्मारक सडक हुँदै गाउँ जाने सडक निर्माण गरेसँगै स्थानीयको बजारसँगको दुरी नजिकिएको हो । नवलपुरबाट स्मारक हुँदै पुण्यक्षेत्र जाने सडकबाट उकालो लागेपछि करिब २० मिनेट सवारीमा गाउँसम्म पुग्ने अवस्था भएको हेटौंडा–१ का अध्यक्ष सबिन न्यौपानेले बताए ।

जनप्रतिनिधिमा निर्वाचित भएसँगै स्थानीयको बजारसँगको दुरी घटाउन ७ वर्ष अवधिमा करिब १ करोड ५० लाख रुपियाँ सडकको निर्माण, स्ल्याब ढलानसहित काममा खर्च भएपछि यात्राको समय छोटिएको उनले बताए । डाँडापाखाको उकालो बाटो पैदलयात्राबाट सदरमुकामसम्म आउन दिन नै माया मार्नुपर्ने अवस्था चिर्दै स्थानीयको बजारसँगको पहुँच सहज बनाउने वातावरण तयार गरिएको उनले बताए ।

‘घण्टौं पैदलयात्राबाट सदरमुकामसम्म आउँथ्यौं, पछि सवारीमा पनि लामै समय पार गर्नुको विकल्प थिएन । अब छोटो समयमा बजार पुग्ने अवस्था भयो । हामी खुसी छौं,’ स्थानीय फूलमाया घलानले भनिन ।

उपमहानगरपालिकाले गत आर्थिक वर्ष र चालु वर्ष गरी ८३ लाख रुपियाँ सडकका लागि दिएको छ । गत आर्थिक वर्षमा ५० लाख र चालु वर्षमा दिइएको ३३ लाखबाट वनदेवीबाट शिखरकोट जाने सडकअन्तर्गत ५ सय ३० मिटर सडक स्तरीकरण र स्ल्याब ढलानको काम सुरु भएको छ । शुक्रबार सडकको नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले संयुक्तरुपमा निर्माण शिलान्यास गरेका छन् ।

स्ल्याब ढलान शिलान्यास गर्दै नगर प्रमुख लामाले गाउँलाई शहरसँग चाँडै जोड्न, नगरबासीले स्वास्थ्यसहित सुबिधालाई सहज उपभोग गर्ने अवस्था सिर्जनाका लागि विकासको काममा तीव्रता दिइएको बताए । उनले उपमहानगरमा गाभिएका तत्कालीन पाँच गाविसलाई लक्षित गर्दै विकासका कामलाई अघि बढाइएको जानकारी दिए ।

सडक निर्माणसँगै १ नम्बर वडाको ध्याङ्सिंटार, नकौली र १९ को डुमारे, लेकपानी क्षेत्रका नगरबासीले आफ्नो कृषि उत्पादनलाई बजारसम्म ल्याउने र आवश्यक सुविधाबाट लाभान्वित हुने अवस्था बन्ने बताइएको छ ।