पारा तेक्वान्दो टोली भियतनाम जाने



काठमाडौं ।

नवौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी– ४) २०२४ मा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शुक्रबार भियतनामको दनाङ प्रस्थान गर्ने भएको छ।

प्रतियोगितामा पलेशा गोवर्धनले महिला ५७ केजीमुनि, भरतसिंह महताले पुरुष ५८ केजीमुनि र अमिर भ्लोनले पुरुष ६३ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन्। प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन्। प्रतियोगितामा ३१ राष्ट्रिका खेलाडी सहभागी हुने बताइएको छ।

पलेशाले छनोट चरण पार गरेर पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरिसकेकी छन्। छनोट चरण पार गरेर पारालिम्पिकमा सहभागिता पक्का गर्ने पलेशा पहिलो र एक मात्र नेपाली पारा खेलाडी हुन्।

यस्तै नेपाल तेक्वान्दो संघले पेरिस पारालिम्पिकमा सहभागी गराउन अमिर र भरतको वाइल्ड कार्डका लागि आवेदन दिइसकेको प्रशिक्षक लामा जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्