म्याराथनमा आर्मीकै खेलाडी शीर्ष तीनमा



बुटवल ।

बुटवलमा बिहीबार आयोजित दोस्रो राष्ट्रिय हाफ म्याराथनको पुरुषतर्फ शीर्ष तीन स्थान त्रिभुवन आर्मी क्लबकै खेलाडीले हासिलल गरेका छन् । राजन रोक्का निर्धारित २१ किलोमिटर दुरी १ घण्टा ९ मिनेट २४ सेकेन्डमा पूरा गर्दै पहिलो भए।

राजनले १ लाख रुपैयाँ प्राप्त गरे । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको ३१ औं स्मृति दिवसको अवसरमा सो म्याराथन आयोजना गरेको हो। मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजित उक्त हाफ म्याराथनमा नरेन्द्र रावत दोस्रो भए।

नरेन्द्रले १ घण्टा १० मिनेट १४ सेकेन्डमा दूरी पार गर्दै ७५ हजार रुपैयाँ पनि पाए। यस्तै, रामजी बस्नेतले १ घण्टा १० मिनेट ३३ सेकेन्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरे । उनले ५० हजार रुपैयाँ प्राप्त गरे।

हाफ म्याराथनको पुरुषतर्फ नै जुम्लाका दुर्गा बुढा चौथो,आर्मीका श्रीष लाल पाँचौ तथा एपिएफका किरणसिंह बोगटीले छैटौं स्थान प्राप्त गरेका थिए । दुर्गाले ३० हजार, श्रीषलालले २० हजार र किरणले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए।

१० किमि महिला खुल्ला दौडको उपाधि एपिएफकी पुष्पा भण्डारीले जितेकी छन्। एपिएफकै आशा रावत दोस्रो तथा सृजना पाण्डे तेस्रो भएकी छन् । पुरुष १० किमीमा अजित कुमार यादव विजयी भएका छन्। नागेश्वर अहिर दोस्रो तथा करण रावत तेस्रो भएका छन् । अजित ३५ हजार, नागेश्वरले २५ हजार तथा करण १५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

एकेडेमीले पहिलो राष्ट्रिय हाफ म्याराथन गत वर्ष गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरेको थियो। पहिलो हाफ म्याराथनमा आर्मीका दीपक अधिकारीले १ घन्टा ६ मिनेट २ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्