आइतबारबाट दोस्रो चरणको सीप मेला

168
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सीप मेला’ अन्तर्गत १५ दिन अवधिका तालिमको पहिलो चरण आज शुक्रबार सकिँदै छ।

वैशाख १९ गते मेलाको उद्घाटनपछि कक्षाहरु सुरु भएका थिए। यस चरणमा १ हजार ५ सय ७७ जनाका लागि तालिमको कोटा थियो। त्यसमध्ये १ हजार ५ सय ५ जना तालिममा सहभागी भएका छन्।

हिजो र आज तालिम सम्पन्न गरेका प्रशिक्षार्थीको योग्यता परीक्षा र नयाँ प्रशिक्षार्थीका लागि अभिमुखीकरण सञ्चालन भइरहेको छ। अभिमुखीकरण कार्यक्रमअन्तर्गत बिहीबार ६ सय ४६ जना सहभागी भएका थिए।

दोस्रो चरणको कक्षा जेठ ६ गते आइतबारबाट सुरु हुनेछ। यसमा १ हजार १ सय ३५ को कोटा छ। यसका लागि १ हजार २ सय ६५ जनाको नाम सूचीकरण गरेर फोनमार्फत तालिममा आउन अनुरोध गरेको कामपाले जनाएको छ।

टुँडिखेलमा भएको कार्यक्रममा सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले तालिमबाट सिकेको सीपबाट स्वरोजगार बन्न प्रेरित गर्नुभयो।

उहाँले भन्नुभयो– ‘आफैँ व्यवसाय सञ्चालन गरेर आय आर्जन गर्नुमा जत्तिको सुख अन्यत्र कतै हुँदैन, त्यसैले स्वरोजगार बन्नुहोस्। यसका लागि हामीले गर्नुपर्ने केही सहयोग भए गर्त तयार छौँ।’