झन्डै ८ करोड बराबरको कोकिन बरामद

112
Shares

काठमाडौं ।

नेपाललाई ट्रान्जिट प्वाइट बनाएर भारत लैजान लागेको झन्डै ८ करोड रुपियाँ मूल्य बराबरको कोकिन प्रहरीले बरामद गरेको छ। उक्त कोकिनको कारोबारमा संलग्न रहेका तीन विदेशी महिलालाई समेत लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ।

लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६ सय ५४ ग्राम अवैध लागूऔषध कोकिनसहित ती विदेशी महिलालाई पक्राउ गरेको जानकारी दिएको छ। लामो समयदेखि अन्तराष्ट्रिय लागूऔषधका तस्करहरुले नेपालको विमानस्थलाई ट्रान्जिट प्वाइटको रुपमा प्रयोग गर्ने गरेको पाइन्छ।

नेपालको विमानस्थलमा अत्याधुनिक उपकरणहरु नभएको कारण तस्करहरुले नेपालको विमानस्थल सुरक्षित भएको महसुस गरेर भरियामार्फत लागूऔषध नेपालको बाटो हुँदै अन्य देश पठाउने गरेको पाइएको छ। प्रहरीले पक्राउ गरेका दुई युगाण्डाली र एक भारतीय महिला अन्तर्राष्ट्रिय लागू औषध गिरोहका सदस्य भएको प्रहरीले जनाएको छ।

गत वैशाख ३० गते दोहाबाट काठमाडौं आएकी युगाण्डाकी नागरिक केभिन मुगाला लागू औषध कोकिनको कारोवार गर्ने अन्तराष्ट्रिय गिरोहको सदस्य भएको र ती महिला नेपाल आएको सूचना पाएको व्युरोले उनलाई निगरानी गर्ने क्रममा बिमानस्थलबाट बाहिर निस्केर ठमेलतर्फ जान लाग्दै गरेको अवस्थामा सिनामंगलबाट पक्राउ गरेको थियो।

प्रहरीले उनको सुटकेस तलासी लिँदा कुनै शंकास्पद बस्तु फेला नपारेपछि उनको हर्कत हेदै गरेको प्रहरीले शरीरको तलासी लिने क्रममा उनको पेट अस्वाभाविक देखिएपछि प्रहरी अस्पताल लगिएको थियो।

अस्पताल लगेपछि उनले निलेका ९० वटा कोकिनका क्याप्सुल उपचार पद्दतीबाट निकालिएको प्रहरीले जनाएको छ। पेटभित्रबाट निकालिएका क्याप्सुलको तौल १ किलो २ सय ६० ग्राम रहेको पनि व्युरोले जनाएको छ। पक्राउ परेकी मुगाला एचआईभी संक्रमित भएको पनि प्रहरीले जानकारी दिएको छ।

प्रहरीले मुगालाको बयानको आधारमा प्रहरीको टोलीले युगान्डाकै लिलियन सुसान वान जेडईलाई बुधबार धोबीचौरको एउटा होटलबाट १ किलो ३ सय ९४ ग्राम कोकिनसहित पक्राउ गरेको थियो।

लागूऔषध तस्करले ती दुई युगाण्डाली महिलालाई कोकिन नेपाल पुर्‍याउने र त्यहाँ उक्त कोकिन लिन भारतीय महिला आउने र उसलाई कोकिन दिने योजनासहित नेपाल पठाएको पनि अनुसन्धानको क्रममा खुलेको ब्युरोले जानकारी दिएको छ। ती महिलाले उक्त लागूऔषध इथियोपियाबाट दोहा हुँदै काठमाडौं ल्याएको र काठमाडौंबाट भारतको नयाँदिल्ली पुर्‍याउने योजना रहेको थियो ।

इथियोपियाबाट जेठ २८ गते हिँडेका उनीहरु ३० गते काठमाडौं आइपुगेका थिए । यहाँबाट सबै सेटिङ मिलाएर नयाँदिल्ली जानु अघि नै सामान लिन आएकी भारतीय महिला देवजानी पल पनि काठमाडौंमा नै पक्राउ परेपछि उनीहरुको योजना बीचमानै तुहिएको ब्युरोका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

इथियोपियाबाट पठाएको कोकिन लिन भारतबाट काठमाडौं आएकी पाल बुटवलबाट पोखरा हुँदै काठमाडौं आएपछि उनलाई पक्राउ गरिएको व्युारोका प्रमुख एसएसपी गोविन्द थपलियाले जानकारी दिनुभयो । प्रहरीले कोकिनको कारोवारमा संलग्न रहेका अन्य व्यक्तिको खोजी गरिरहेको छ।