स्यान्टु ओलम्पिक्सका लागि छनौट



काठमाडौं ।

स्यान्टु श्रेष्ठ आगामी पेरिस ओलम्पिक्सका लागि छनौट भएका छन्। टेबलटेनिसको दक्षिण एसियाली क्षेत्रीय छनौट प्रतियोगितामा फाइनल जितेसँगै स्यान्टु ओलम्पिक्सका लागि छनौट भएका हुन्। स्यान्टुले बुधबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनल खेलमा नेपालकै संयोग कपालीलाई ४–३ सेटले हराएका थिए ।

स्यान्टु र संयोगबीच को ओलम्पिक्समा पुग्ने भनेर निकै कडा प्रतिस्पर्धा भएको थियो । सो खेलमा स्यान्टु ११–७, ८–११, ११–७, ११–६, ८–११, ८–११, ११–९ ले विजयी भएर पेरिसको टिकट कटाउन सफल भए। यो छनौट प्रतियोगिताबाट पुरुष र महिला एकलतर्फका विजेता खेलाडी मात्रै ओलम्पिक्समा छनौट हुने प्रावधान रहेकोअनुसार स्यान्टुले ओलम्पिक्स खेल्ने तय गरेका हुन्।

साथै नेपाली टेबलटेनिस ओलम्पिक्समा छनौट भएको पनि यो पहिलो अवसर हो । यो इतिहास नै बनेको पूर्व टेबलटेनिस खेलाडी तथा प्रशिक्षक धर्ममान वज्राचार्यले बताउनुभयो। वज्राचार्यले बताउनुभयो—अहिलेसम्म नेपाली टेबलटेनिस ओलम्पिक्समा पुग्नै सकेको थिएन। अहिले अवसर आयो र नेपाली खेलाडीले त्यो अवसरलाई खेर जान दिनुभएन । यो हाम्रो लागि गर्वको कुरा भएको छ।

तेस्रो खेलाडी

स्यान्टू छनौट चरण पार गरेर ओलम्पिक्समा पुग्ने तेस्रो नेपाली खेलाडी समेत बनेका छन्। यसअघि तेक्वान्दोका संगीना वैद्य र दीपक विष्टले छनौट चरण पार गरेर ओलम्पिक्समा खेलेका थिए। सन् २००४ मा ग्रीसको एथेन्समा भएको ओलम्पिक्समा संगीना र सन् २००८ मा चीनको बेइजिङमा भएको ओलम्पिक्समा दीपकले प्रतिस्पर्धा गरेका थिए।

नविता र इभाना चुके

महिलातर्फ माल्दिभ्सकी खेलाडी फातिमाथ अली छनोट भइन्। फातिमाथले विमान्डे बन्दरालाई ४–१ सेटले हराएर पेरिस ओलम्पिकमा छनौट भएकी हुन्। नेपालको तर्फबाट नविता श्रेष्ठ र इभाना थापाले प्रतिस्पर्धा गरेका थिए। तर, दुबै जना क्रमशः क्वार्टरफाइनल र सेमिफाइनलबाट बाहिरिएर ओलम्पिक्समा छनौट हुनबाट चुकेका थिए।

प्रतिक्रिया दिनुहोस्