नेपाल-जापानका मेयरबीच भगिनी सम्बन्ध स्थापित गर्नेबारे छलफल 



काठमाडौं ।

जापानको ओईजुमी नगरपालिकासँग नेपालस्थित ललितपुर महानगरपालिका र सिद्धिचरण नगरापालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्दै आपसी सहयोग आदान प्रदान गर्ने विषयमा छलफल अघि बढेको छ।

ओईजुमी नगरपालिका मेयर तोषीआकी  मुरायामा, ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन र सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनालबीच बुधबार ललितपुर महानगरपालिकामा छलफल भएको हो।

सो छलफलमा ओईजुमी नगरपालिकाका मेयर तोषीआकी मुरायामासँग ललितपुर महानगर र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका प्रमुखद्वय महर्जन र खनालले आ–आफ्नो नगरपालिकाको आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थाको बारेमा जानकारी गराए।

छलफलमा ओईजुमीका मेयर मुरायामाले आफूले नेतृत्व गरेको नगरपालिका सानो भएपनि आर्थिक रूपमा समृद्ध रहेको भन्दै अन्य मुलुकका स्थानीय सरकारसँग आवश्यक सहकार्य गर्न सकारात्मक रहेको बताए। उनले ओईजुमी नगरपालिकामा उत्पादन भएका अर्बौँ रुपैयाँ बराबरका सामानहरू अन्य देशमा निर्यात हुने गरेको जानकारी दिए।

नेपालका स्थानीय सरकारसँग सम्बन्ध सुदृढ गरेर सहयोग आदान प्रदान गर्न सकिने विश्वास व्यक्त गर्दै उनले आपसी मैत्रीपूर्ण सम्बन्धका लागि तयार रहेको बताए। उक्त नगरपालिकामा ५३ देशका नागरिक बस्ने र सबैभन्दा बढी नेपालीहरू बसोबास गर्ने गरेका मेयर मुरायामाले जानकारी दिए।

जापानमा केन्द्रीय सरकारले स्थानीय सरकारको कुराहरूलाई विश्वासका साथ सुन्ने अवस्था रहेको उनको भनाई छ। द्विपक्षीय छलफलमा मेयर महर्जनले ओईजुमी नगरपालिकाको भूगोल, अर्थतन्त्र निकै राम्रो र व्यवस्थित रहेको प्रशंसा गर्दै आफूहरूले पनि ओईजुमाका राम्रा कुराहरूलाई ललितपुर महानगर र सिद्धिचरण नगरपालिकाले पछ्याउने ल्याउने बताए।

जापानको नगरपालिकासँग भगिनी सम्बन्ध राख्न ललितपुर र सिद्धिचरण नगरपालिका सकारात्मक भएको भन्दै मेयर महर्जनले विभिन्न कार्यक्रममा सहकार्य गर्न अनुरोध गरे। भगिनी सम्बन्धका लागि आवश्यक प्रक्रिया अघि बढाउन आपसी समझदारी पत्रमा हस्ताक्षर गर्न सकिने र असल अभ्यासहरू आदान–प्रदान गर्न सक्ने महर्जनको भनाई छ।

त्यस्तै सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनालले दुई नगरपालिकाबीच भगिनी सम्बन्ध कायम गरेर सहकार्य आदान प्रदान गर्नका लागि सहकार्य अघि बढाउन अनुरोध गरे। शिक्षा, स्वास्थ्य र सहरी विकासमा सहकार्य गर्न सकिने उनले विश्वास व्यक्त गरे।

दुई देशका स्थानीय सरकारबीच दौत्य सम्बन्ध कायम गर्ने विषयमा गरिएको छलफललाई लोकतान्त्रिक खेलकुद महासङ्घका केन्द्रीय सदस्य सम्मर बहादुर गिरीको समन्वय गरेका हुन्। गिरी सहित नेपाली साझा समाज जापानका अध्यक्ष बुद्धि शेरचन र महासचिव निरज गुरुङले आवश्यक समन्वय गरेका छन्।

छलफलमा ओईजुमी नगरपालिका विभिन्न विभागीय प्रमुख, ललितपुर महानगरपालिकाका कर्मचारी र पत्रकारहरू समेतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्