सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी : डा. डीला संग्रौला



सिन्धुपाल्चोक ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सग्रौलाले सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन असम्भव रहेकाले यो कर्मकाण्डीमा सीमित हुने दाबी गरेकी छिन्। उनले वर्तमान सरकार कर्मकाण्डी प्रवृत्तिमा लागि परेको पनि बताइन्।

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै डा.संग्रौलाले नीति तथा कार्यक्रमले अहिलेको अर्थतन्त्र सुधार्न नसक्ने, अधिकांश कार्यक्रम पुरानै दोहोरिएको र कार्यान्वयन गर्नका लागि सरकारसँग आर्थिक क्षमता कमजोर देखिएको बताइन।

‘नीति तथा कार्यक्रममा आम्दानीका दायरा विस्तार गर्न सकेको देखिँदैन। राजस्व प्रशासन सुधारतर्फ सरकारको कुनै ध्यान गएको देखिँदैन। कमजोर धरातलमा रहेको सरकारले समग्र शासन प्रणालीमा सुधार गर्न सक्ने देखिँदैन,’ डा. संग्रौलाको भनाइ थियो।

उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गिरीबन्धु टी इस्टेटको जग्गाका सट्टापट्टा गर्ने मिल्ने निर्णय गरेर नीतिगत भ्रष्टाचार गरेकाले त्यस क्रममा भएको अनियमिततामाथि छानबिन गर्न माग गरिन्।

वर्तमान सरकार कर्मकाण्डी र कागजी प्रक्रिया पुर्‍याउन मात्रै लागि परेको बताएकी उनले सरकारले देश र जनताको  पक्षमा काम गर्न नसक्ने आरोप लगाइन।

‘एमाले, माओवादीलगायतको सरकार नागरिकप्रति उत्तरदायी छैन। सत्ता टिकाउने खेलमा मात्रै सीमित छ। देशभर अनियमितता र व्यथिती मौलाएको छ। सहकारीको समस्या दिनप्रतिदिन बढ्दै गएको छ। गृहमन्त्री आफैँ सहकारीको रकम अपचलन गरेको आरोप खेपिरहेका छन्। तर सरकार भने ढाकछोपमा लागिपरेको छ,’ डा.संग्रौलाले भनिन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि आरोप लागेपछि पदमा बसिरहनु  नैतिक रूपले नहुने भन्दै उनले राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने सग्रौलाले बताइन्।

नेपाली काङ्ग्रेस नागरिकको हितको लागि सधैँ काम गर्ने पार्टी भएकाले नागरिकको समस्यालाई समाधान गरेर अगाडि बढ्नुपर्नेमा पार्टीको सबै तह सक्रिय बन्न सुझाव दिइन। पार्टीको सङ्गठनलाई मजबुद बनाएर लगे नेपाली काङ्ग्रेसले निर्वाचन कहिले नहार्ने उनको जिकिर छ।

प्रतिक्रिया दिनुहोस्