बन्धक बनाइएका ३६ नेपाली मजदुरको उद्धार

बन्धक बनाउने दुई भारतीय पक्राउ



काठमाडौं ।

भारतको कश्मीरमा काममा लगाइदिने भन्दै लामो समयदेखि बन्धक बनाइएका ३६ नेपाली मजदुरको उद्धार गरिएको छ। उनीहरूलाई उद्धार गरी भारतको राजधानी नयाँदिल्लीस्थित नेपाली दूतावासमा ल्याइएको छ।

कामको खोजीमा सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट कश्मीर पुगेका ती नेपाली मजदुरलाई बन्धक बनाउने २ जनालाई भारतीय प्रहरीले पक्राउ गरी अनुसन्धान शुरू गरेको छ।

नेपालबाट कामका लागि कश्मीर पुर्‍याइएका ती नेपाली मजदुरलाई तीन महिनादेखि कुनै पारिश्रमिक नदिई उनीहरूलाई काममा लगाउने र पैसा मागे ज्यान मार्ने धम्की दिने गरेको पीडितहरूले भारतीय प्रहरीलाई जानकारी गराएका थिए।

दिल्लीस्थित नेपाली दूतावास र सामाजिक संस्था किन इन्डियाको समन्वयमा सबै मजदुरलाई कश्मीरबाट उद्धार गरी दिल्ली ल्याइएको भारतस्थित नेपाली दूतावासले जानकारी दिएको छ।

उद्धार गरिएका सर्लाहीका दिनेश पासवानले काम गर्नका लागि भनेर लगिएको, काम गर्न गएको दिन नै कुटपिट गरी मोबाइल, नगद सबै खोसेर काममा लगाउने गरेको बताउँदै खानासमेत राम्रोसँग दिने नगरेको जानकारी दिनुभयो।

झन्डै ३ महिना बन्धक बनाएपछि दिल्लीस्थित नेपाली दूतावास, कश्मीर प्रहरीको सहयोगमा उनीहरूलाई उद्धार गरी दिल्ली ल्याइएको पनि दूतावासले जनाएको छ।

बन्धक बनाएको ठाउँबाट भागेर नेपाल आएका एक युवाले नेपाल प्रहरीमा जानकारी गराएको भए पनि प्रहरीले कुनै वास्ता नगरेको र ती युवकले भारतमा नै गएर पुनः सहयोग माग गरेपछि उनीहरूको उद्धार सफल भएको बताइएको छ।

ठेकेदारको बन्धकबाट भागेका ७ जनामध्ये एकले भोगेका यातनाबारे आफन्तलाई खबर गरेपछि सामाजिक अभियन्ता सरोज रायले उद्धारका लागि पहल शुरू गर्नुभएको थियो। सो समूहमा तीन महिनाअघि ४३ जना नेपाली कामका लागि कश्मीर गएका थिए।

भारतीय प्रहरीले घटनामा संलग्न मुख्तकिम आलम र मो. साजादलाई पक्राउ गरेको र जमाल मन्सुरी र मलिम मन्सुरीको खोजी गरिरहेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्