क्रिकेटर सन्दीपले पाए सफाइ



 काठमाडौं ।

उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको निर्णय उल्ट्याउँदै क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा निर्दोष ठहर गरेको छ।

न्यायधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले बुधबार सन्दीपलाई निर्दोष ठहर गरेको उच्च अदालत पाटनका प्रवक्ता विमल पराजुलीले जानकारी दिनुभयो।

अदालतमा बहस चलिरहँदा उच्च अदालतबाहिर सन्दीपका समर्थकहरूको भीड लागेको थियो । झडप हुने आशंकाका कारण अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो।

उच्च अदालतले ‘गौशाला २६ नाबालिग’ भन्ने दाबी प्रमाणित नभएको र जबरजस्ती करणी गरेको सबुत प्रमाणले पुष्टि नगरेको आधार देखाउँदै सफाइ दिएको हो। उच्च अदालतको निर्णयपछि आफूले न्याय पाएको भन्दै सन्दीपले आफू अझै राष्ट्रको लागि खेल्न तत्पर रहेको बताउँदै आफ्ना लाखौं समर्थकलाई धन्यवाद पनि दिनुभयो।

उहाँले भन्नुभयो– ‘कठिन अवस्थामा पनि समर्थकहरूले माया र साथ दिएकाले खेलमार्फत् राष्ट्रका लागि योगदान दिने मेरो अठोट र अभिलाषा अझै उच्च बनेको छ । अदालतप्रति मेरो विश्वास र आस्था निरन्तर थियो र भविष्यमा पनि अटल रहने छ।’

गत वर्ष पुष १३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय तोकेको थियो। उक्त निर्णयविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए।

२०७९ साल भदौ ५ गते सिनामंगलस्थित एक होटलमा बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध एक किशोरीले झण्डै दुई सातापछि भदौ २१ गते गौशाला प्रहरीमा जाहेरी दिएकी थिइन्। सन्दीप नेपालबाहिर वेस्ट इन्डिजमा क्यारिबियन प्रिमियर लिग खेलिरहेको बेलामा यो उजुरी परेको थियो।

त्यसपछि करिब १ महिनासम्म पनि सन्दीप नेपालमा नफर्केपछि नेपाल प्रहरीले इन्टरपोलमा डिफ्युजन नोटिस जारी गरेको थियो। सोही वर्षको असोज २० गते नेपाल फर्कंदै गर्दा सन्दीप त्रिभुवन विमानस्थलबाटै पक्राउ गरी पुर्पक्षका लागि थुनामा पठाइयो।

तीन महिनापछि पुष २९ गते नै २० लाख धरौटीमा थुनाबाट बाहिर निस्किएपछि सन्दीपले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागिता जनाउनुभएको थियो। तर, गत वर्ष पुष १३ गते जिल्ला अदालतले बलात्कारको मुद्दामा दोषी ठहर गरेपछि भने सन्दिप क्रिकेटबाट परै रहनुभयो।

निलम्बन फुकुवासँगै विश्वकप खेल्न पाउने सम्भावना

बलात्कारसम्बन्धी मुद्दामा सन्दीपले सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले हिजै विज्ञप्ति जारी गर्दै सन्दीपको निलम्बन फुकुवा गरेको छ। जिल्ला अदालतले दोषी ठहर्‍याएपछि निलम्बनमा पारेको क्यानले बोर्डको बैठक बसेर सन्दीपको निलम्बनबाट फुकुवा गरेको हो।

निलम्बन फुकुवा भएसँगै सन्दीपले आगामी आईसीसी टी २० विश्वकप खेल्न पाउने सम्भावना बढेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्वकपमा सहभागी राष्ट्रहरूलाई उचित कारण देखाएर आफ्नो टोलीमा हेरफेर गर्न यही मे २४ तारिखसम्मको समय दिएको छ।

त्यो समयभित्र हरेक राष्ट्रले आफ्नो टोलीमा परिवर्तन गर्न सक्ने सम्भावना रहेकाले पनि सन्दीप विश्वकपमा जान सक्ने सम्भावना देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्