मिडिया एलाइन्ससँग प्रधानमन्त्रीको प्रतिबद्धता 

समग्र मिडियाको समस्या सम्बोधन गर्ने गरी बजेट ल्याउँछौ



काठमाडौ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  मिडिया क्षेत्रको समग्र समस्या सम्बोधन गर्ने गरी आफूले पहल लिएको र सोहीअनुसार बजेटमा आवश्यक  व्यवस्था गरिने प्रतिबद्धता जनाएका छन्।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मिडिया एलाईन्स नेपालको प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा  ज्ञापन पत्र ग्रहण गर्दै  प्रधानमन्त्री प्रचण्डले  सो  प्रतिबद्धता जनाएका हुन्।

भेटघाटका  प्रधानमन्त्री प्रचण्डले नेपाली मिडिया जगतले कहिल्यै पनि कसैसँग सम्झौता नगरेको इतिहास स्मरण गराउँदै अहिले पनि सशक्त भूमिका निर्वाह गरेकोमा धन्यवाद ज्ञापन गरे ।

‘नेपाली मिडियाले कहिल्यै पनि कसैसँग सम्झौता गरेको छैन । मिडियाको समग्र समस्या समाधानको लागि बजेटमा विशेष व्यवस्था गर्छु। म साथ दिन्छु। मिडियाले आफ्नो धर्म सही तवरले निर्वाह गरेको छ । कसैसँग सम्झौता नगर्नुहोस् । म तपाईंहरुको साथमा छु ।’ प्रधानमन्त्री प्रचण्डले भने ।

मिडिया एलायन्स नेपालका अध्यक्ष भास्करराज राजकर्णिकार पत्नीशोकमा भएको कारण संस्थाका महासचिव दिरेकलाल श्रेष्ठको नेतृत्वमा पुगेको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री दाहालले नेपाली मिडियाले लोकतन्त्र, प्रेस स्वतन्त्रता, राजनीतिक परिवर्तन, व्यवस्था र समृद्धिको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याएकोमा आगामी दिनमा पनि यस्तै भूमिकाको अपेक्षा राखिएको बताए।

मिडियाका समग्र समस्या समाधानको लागि आफूले पहल लिने भन्दै सञ्चारमन्त्रीसहित सरोकारवाला सबैलाई एक ठाउँमा राखेर अब आउने नयाँ बजेटमा मिडियाका समस्या समाधानको लागि विशेष व्यवस्था गरिने पनि प्रधानमन्त्री दाहालले प्रतिबद्धता जनाए।

सो अवसरमा प्रधानमन्त्री समक्ष मिडिया क्षेत्रले भोग्नुपरेका समस्या र समाधानका विभिन्न उपाय तथा मिडिया क्षेत्रको संरक्षणका लागि बजेटमा समावेश गर्नुपर्ने विविध विषयका  बारेमा आफूहरूले ज्ञापन पत्र मार्फत प्रधानमन्त्रीको ध्यानाकृष्ट गरेको मिडिया एलाइन्स नेपालका महासचिव दिरेकलाल श्रेष्ठले जानकारी दिए।

 मिडिया एलाइन्सको सो समूहले बुधबार नै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई भेटेर ज्ञापन पत्र बुझाएको  थियो।

प्रतिक्रिया दिनुहोस्