बेवारिसे भेटिएकी शिशु जिल्ला अस्पताल स्याङ्जामा हुर्कदैँ

84
Shares

स्याङ्जा। 

खोलाछेउ भेटिएकी नवजात शिशु जिल्ला अस्पताल स्याङ्जामा छन् । वैकल्पिक अभिभावकको खोजीमा उनलाई अस्पतालमा राखिएको हो । अस्पतालका कर्मचारीले नै अहिले उनको खानपान, रेखदेख र स्वास्थ्योपचार गरिरहेका छन् । सालनालसहित बेवारिसे अवस्थामा भेटिएकी नवजात शिशु करिब २ महिनाकी भईन् । चापाकोट नगरपालिका– २ पाकरी खोलानजिक चैत ७ गते वेवारिसे अवस्थामा नवजात शिशु भेटिएको थियो । उनको अनुहार र शरीरका केही भागमा चोटसहित कमिलाले घेरिएको, टोकेको अवस्थामा उनी भेटिएकी थिइन् ।

स्थानीय एक व्यक्तिले देखेपछि प्रहरीलाई खबर भए पश्चात् नगरपालिकाको पहलमा उनलाई पोखरास्थित एक अस्पतालमा उपचारपछि स्वास्थ्यमा सुधार आएर पुनः गृह जिल्लाको स्याङ्जा अस्पतालमा ल्याइएको हो । नवजात ती शिशु दिन गनेर हुर्किएकी छन् । हाल उनको अवस्था स्वस्थ रहेको अस्पतालले जनाएको छ । विशेषगरी, नर्स तथा महिला कर्मचारीले उनको खाना (ल्याक्टोजीन खुवाउने)े, कपडा लगाइदिने लगायतका अन्य आवश्यक स्याहार सुसार गर्दै आएका छन् । रातमा पनि डिउटीमा खटिने कर्मचारीले शिशुको आवश्यक रेखदेख गर्दै आएको अस्पताल प्रमुख रुक्मिना अधिकारीले जानकारी दिइन्  ।

डिउटीबाहेकको समयमा कर्मचारीहरुले काख काखमा राखेर खेलाउने तथा भुलाउने गरेका छन् । नावालिकालाई काखमा च्यापेर खेलाउँदै गरेकी  सिनीयर अनमि अप्सरा भण्डारीले भनिन् , ‘यहाँ त हाम्रै परिवारका एक सदस्य बनिसक्नु भएको छ । निकै माया लाग्छ । यहाँका सबैले माया र रेखदेख गर्नुहुन्छ ।’ त्यसो त, चापाकोट नगरपालिकाले शिशुको आमा, बुवा तथा आफन्तलाई नाबालिकाको हकदावी गर्नका लागि आव्हान गर्दा समेत नआएपछि बैकल्पिक हेरचाहका लागि सूचिकृत हुन आव्हान गरेको छ ।

विभिन्न ९ बुँदामा समेटिएका प्रमाण सहितका कागजात र निवेदनसहित व्यक्ति, संस्था वा बालगृहलाई समेत सूचना जारी गरेको ७ दिनभित्र दिन सकिने प्रावधान राखिएको नगरप्रमुख देवबहादुर खाँण ईश्वरले बताए । उक्त बालक प्राप्तिका लागि नेपाली नागरिक भएको, शैक्षिक एवं आर्थिक हैसियत खुलेको, फौजदारी अभियोग नलागेको, दम्पतीका हकमा नेपाल मेडिकल बोर्ड, वीर अस्पतालबाट सन्तान प्राप्त हुन नसक्ने भन्ने ब्यहोराको प्रमाण लगायतका अन्य कागजातसमेत पेश गर्नुपर्ने उल्लेख छ ।

पालिकाले २०८० चैत २७ गते जारी गरेको सूचना बमोजिम अहिलेसम्म एक जनाको मात्र निवेदन परेको उपप्रमुख एवं स्थानीय बाल अधिकार समिति संयोजक इशा रानाले जानकारी दिइन् । निवेदन सम्बन्धमा आवश्यक जानकारी लिइरहेको र अबका केही दिनमै बैठक बसेर टुंग्याइने प्रक्रियामा अघि बढेको उपप्रमुख एवं संयोजक रानाको भनाइ छ । उनले भनिन् , ‘शिशुका ५७औं दिन निकै उतारचढावका बीच गुज्रेका छन् । शिशु चापाकोटकी छोरी हुन् ।’ नगरपालिकाभित्र भेटिएका शिशुका अभिभावक पहिचान हुन नसकेपछि चापाकोटले नै वैकल्पिक हेरचाहको जिम्मेवारी दिन लागेको जनाएको छ ।