आजदेखि अनेरास्ववियुको विद्यार्थी महोत्सव



काठमाडौं ।

एमाले निकट अनेरास्ववियुले आजबाट विद्यार्थी महोत्सव शुरू भएको गरेको छ। संगठन स्थापना भएको ६० वर्ष पुगेको अवसरमा महोत्सव आयोजना गरिएको हो।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले पढेर मुलुकमा नै केही गर्न सकिन्छ भनेर विद्यार्थीलाई जानकारी गराउन महोत्सव शुरू गरिएको जानकारी दिँदै भन्नुभयो– ‘ब्रेनड्रेन होइन ब्रेनग्रेन गराउन महोत्सव आयोजना गरेका हौं। युवा विद्यार्थीलाई मातृभूमिप्रति प्रेम र स्नेह जगाउँदै ‘नेपालमै पढछु, म बनाउँछु मेरो देश नेपाल’ भन्ने भावना जागृत गर्दै ‘विद्यार्थी महोत्सव’ का माध्यमबाट नयाँ जागरण ल्याउने प्रत्यत्न गरेका हौं ।’

अध्यक्ष बडालले विद्यार्थी महोत्सवमा विद्यार्थीलाई नेपालको शिक्षा प्रणालीको बारेमा जानकारी गराउनुका साथै शिक्षा प्रणालीमा आवश्यक सुधारका बारेमा सुझाव दिइने बताउनुभयो । उहाँले महोत्सवबाट उठेको रकमबाट खर्च कटाएर बचेको रकमको ५ प्रतिशत गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिका लागि दिइने बताउनुभयो ।

नेपालको विद्यार्थी आन्दोलनको इतिहासमा यो सबैभन्दा ठूलो शैक्षिक महोत्सव भएको अनेरास्ववियुको दाबी छ। महोत्सवमा प्रत्यक्ष परियोजना, लाइभ म्युजिक, करियर काउन्सिलिङ, बहस र संवाद, सातवटै प्रदेश झल्कने खालका सांस्कृतिक कार्यक्रम, रक्तदान तथा स्वास्थ्य शिविर, फुडस्टल, ई–गेमिङ्ग प्रतियोगिता, रोवोटिक्स, पर्यटन भिजन, विश्वविद्यालय जानकारी, कानुनी शिविर, लाइभ पेन्टिङ प्रतियोगिता, चलचित्र स्क्रिनिङ र दस्तावेजीकरण कार्यक्रम राखिएको छ।

महोत्सवमा विद्यार्थी आन्दोलनको ६ दशक र अबको कार्यभार, शिक्षा प्रणालीको पोलिटिकल इन्जिनियरिङ कस्तो ? कसरी सम्भव छ राजनीतिक स्थायित्व ?, बदलिँदो भूराजनीति र नेपाल, विश्वविद्यालय सुधार किन र कसरी ?, युवा विद्यार्थी पलायनको अर्थ राजनीतिक आयामलगायतका विषयमा नेपालका राजनीतिक दलका नेताबीच सामूहिक छलफल हुने बताइएको छ।

विद्यार्थी आन्दोलनलाई रचनात्मक गतिविधिसँग जोड्न र नेपालको शैक्षिक प्रणाली तथा त्यसमा सुधार गर्नुपर्ने पक्षका बारेमा सामूहिक छलफल गरी आएका निष्कर्ष सरकार र सम्बन्धित निकायमा बुझाइने नरेश रोकायाले जानकारी दिनुभयो।

विद्यार्थी महोत्सवका संयोजक धर्म गिरीका अनुसार महोत्सवमा १ सय ५० बढी शैक्षिक स्टल राखिने छन्। महोत्सवमा विद्यार्थीलाई मनोरञ्जन प्रदान गर्न लागि लाइभ म्युजिक कार्यक्रमसमेत राखिएको छ । जोन एन्ड दि लोकल्स, द इलिमेन्ट र अनुप्रस्थ जस्ता चर्चित ब्यान्डका कलाकारहरूले प्रत्येक दिन दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म सांगीतिक कार्यक्रम प्रस्तुत हुनेछ ।

महोत्सवमा देशभरिबाट करिब एक लाख विद्यार्थीले प्रत्यक्ष अवलोकन गर्ने लक्ष्य छ। वर्षेनी १ लाख २० हजार विद्यार्थीलाई विदेश जानबाट रोक्न र शिक्षातर्फको यो वर्षको हालसम्म विदेशिएको ६७ अर्ब १९ करोड रुपियाँ बाहिरिनबाट रोक्नका लागि सहयोग पुग्न सकोस् भनी महोत्सव आयोजना गरेको अध्यक्ष बडालको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्